काठमाडौं : नेपाल तेक्वान्दो संघअन्तर्गतको महिला सशक्तिकरण समितिको आयोजनामा प्रथम महिला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता चैत २३ गतेदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने भएको छ।
प्रतियोगितामा दक्षिण एसियाली राष्ट्र नेपालसहित भारत, भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान गरी ६ राष्ट्रका करिब १ सय ६९ खेलाडीको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक नन्दा बस्यालले जानकारी गराइन्।
हरेक दुई वर्षमा प्रतियोगिता सञ्चालन गर्ने लक्ष्यसहित सुरु गरिएको प्रतियोगिता पहिलो पटक २०७१ को फागुनमा आयोजना गरिएको थियो जुन राष्ट्रियस्तरको थियो। प्रतियोगितालाई अझ व्यापक बनाउने उद्देश्यसाथ योपटक अन्तर्राष्ट्रिय प्रतियोगता गर्न लागिएको संयोजक बस्यालले बताइन्।
१३ स्पर्धा समावेश दुई दिने प्रतियोगितामा गेरोगीमा सिनियर र जुनियर गरी विभिन्न ९ तौलसमूह तथा पुम्सेमा ४ विधामा खेल हुनेछ। जुनियरमा ४०, ४२ र ४४ तथा सिनियरमा ४६, ४९, ५३, ५७, ६२ र ६७ केजी वजन समूहमा प्रतिस्पर्धा गराइने छ।
पुम्सेमा यु–१५, यु–१९ र प्लस १९ र समूहगततर्फ खेलाडीले आ–आफ्नौ कौशल प्रदर्शन गर्नेछन्। गत पुसमा पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेताले प्रतियोगितामा भाग लिन पाउने छैनन्।
पाँच क्षेत्र, विभागीय टोली नेपाल प्रहरी क्लब, त्रिभूवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब गरी ८ टिमका ९६ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्।
२० महिला निर्णायक परिचालन गरिने छ। प्रतियोगिताको लागि करिब ४५ लाख रुपैयाँ खर्च हुने आयोजकको जनाएको छ।
संयोजक बस्यालले पुरुषप्रधान हाम्रो देशमा महिलाहरुले पनि केहि गरेर देखाउन सक्छन् भन्ने सन्देश प्रवाह गर्न महिला टोलीले यो प्रतियोगिताको सुरुवात गरेको र आगामी दिन विभिन्न कार्यक्रम समेत गर्ने बताइन्।