
काठमाडौँ : निर्वाचन आयोगले मन्त्रीहरुको राजनीतिक कार्यक्रम माथि अंकुश लगाउँदै मन्त्रीहरुले कुनैपनि कार्यक्रममा सहभागि हुनु अघि आयोगसँग अनुमति लिनुपर्ने व्यवस्था समेत गरेको छ। ।
गत १९ गतेबाट निर्वाचन आचारसंहिता लागू गरेपछि आयोगले त्यस्ता कार्यक्रमको प्रकृति हेरेर सहभागिताका लागि अनुमति दिने वा रोक्ने निर्णय लिँदै आएको छ।
संहिता अनुसार आयोगले खेलकुद मन्त्री दलजित श्रीपाइलीलाई तिलोत्तमा गोल्डकप उद्दघाटनमा सहभागि हुनबाट रोकेको छ। 'मन्त्री जाने भनेपछि सरकारी गाडी प्रयोग हुन्छ त्यस्तो ऐन र आचारसंहिता विपरित हुने भएकाले रोकेका हौँ', उपन्यायाधीवक्ता घनश्याम ओझाले भने।
आयोगले २३ गते गृहमन्त्रीको कैलाली क्षेत्र नं १ मा हुने क्षेत्रीय भेलामा सहभागिता रोकेको छ।
मन्त्रालयले मन्त्री सहभागि हुने कार्यक्रम र हेलिकप्टर प्रयोगमा अनुमति मागेको थियो। कैलाली जान हेलिकप्टर प्रयोगमा अनुमति दिएको आयोगले राजनीतिक कार्यक्रममा जान रोकेको हो।
आयोगमा विभिन्न मन्त्रालय र सरकारी निकायहरुले चार दिन भित्रै ६० वटा पत्र पठाइसकेका छन्। जसमा उद्घाटन र अन्य कार्यक्रममा सहभागिताका लागि अनुमति मागिएको ओझाले बताए।
आयोगले सहरी विकास मन्त्री अर्जुननरसिंह केसीको नुवाकोटका विभिन्न क्षेत्रमा सहभागि हुने कार्यक्रम समेत रोकिसकेको छ।
प्रधानमन्त्रीलाइ पनि सरकारी हेलिकप्टर प्रयोग गरेर राजनीतिक कार्यक्रममा सहभागि नहुन आयोगले जानकारी गराएको छ। निजी हेलिकप्टर प्रयोग गरेको अवस्थाम पनि अनुमति लिएर जान आयोगले जानकरी गराएको छ।
स्ववीयू र कर्मचारीको निर्वाचन रोकियो
आयोगले त्रिभुवन विश्वविद्यालयलाइ पत्र लेखेर स्वतन्त्र विद्यार्थी युनियन र कर्मचारी युनियनको नयाँ निर्वाचन कार्यतालिका प्रकाशित नगर्न र निर्वाचन नगराउन भनेको छ। 'नीतिगत निर्णय नै गरेर निर्वाचन रोक्न पत्र लेखेका हौँ', ओझाले भने, 'अब नयाँ निर्वाचान हुदैँन।'त्रिभुवन विश्वविद्यालले देशका कयौँ आंगिक क्याम्पसहरुमा गत १८ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराएको थियो। तर राजधानीका अधिकाशं क्याम्पसमा भने निर्वाचन हुन सकेको थिएन।