PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

एमाले अभियान रोक्न मोर्चाको बन्द, आयोगले भन्यो- 'गौर घटना नदोहोरियोस्'



पहिलोपोस्ट

एमाले अभियान रोक्न मोर्चाको बन्द, आयोगले भन्यो- 'गौर घटना नदोहोरियोस्'

सप्तरी : नेकपा एमालेको मेची–महाकाली अभियानको विरोध गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज सप्तरी जिल्लामा यातायात ठप्प पारेको छ।
 
मोर्चाको बन्दको कारण सप्तरीमा लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन्। एमालेले अभियान कार्यक्रमअन्तर्गत राजविराजको औद्योगिक क्षेत्रमा गर्ने आमसभालाई बिथोल्नका लागि चक्काजाम गरिएको मोर्चाले जनाएको छ। आजै बिहान मोर्चाले लाठी जुलुस समेत प्रदर्शन गरेको छ।
 
स्थानीय प्रशासनले भने कुनै अप्रिय घटना हुन नदिन शान्ति सुरक्षा कडा पारेको जनाएको छ।
 
यसैबीच, राष्ट्रिय मानव अधिकार आयोगले एमालेको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गतको कार्यक्रममा अवरोध नगर्न आग्रह गरेको छ। आयोगकी प्रवक्ता मोहना अन्सारीले एक विज्ञप्ति जारी गर्दै आफ्ना फरक मत र विचार राख्ने शान्तिपूर्ण बाटो हुँदाहुँदै एमालेको पूर्व निर्धारित कार्यक्रमलाई बाधाअवरोध नपुर्‍याउन सम्बद्ध पक्षलाई आग्रह गरेकी छिन्।
 
विज्ञप्तिमा एमालेको अभियानअन्तर्गत संयुक्त मधेसी मोर्चाका कार्यकर्ताबाट एमालेका नेतामाथि आक्रमण गर्नु मानवअधिकारको मूल्यमान्यताविपरीत देखिएकाले त्यस्ता कार्य नगर्न मोर्चाका कार्यकर्तालाई आग्रह गरिएको छ।
 
'एउटा दलले आफ्ना कार्यक्रम सार्वजनिक गरिसकेपछि सो कार्यक्रम बिथोलिने गरी अरुले कार्यक्रम राख्ने र झडपको स्थिति सिर्जना गर्ने कार्यबाट सकारात्मक परिणाम प्राप्त हुने देखिँदैन,' विज्ञप्तिमा भनिएको छ, 'हिंसात्मक बाटो अपनाउँदा २०६३ सालको चैतमा रौतहटको गौरमा भएको घटनालाई बिर्सन सकिँदैन।'

फागुन २१ गते झापाको काँकडभिट्टाबाट सुरु भएको मेची-महाकाली राष्ट्रिय अभियानको दोस्रो दिन मोरङ र सुनसरीमा एमालेले सभा सम्पन्न गरेको छ। अभियानअन्तर्गतको कार्यक्रम आज सुनसरीको इनरुवा, सप्तरीको राजविराज र कञ्चनपुरमा हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell