PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

निगमले खरिद गर्ने विमानसम्बन्धी पाँच दिनभित्र जानकारी गराउन लेखाको निर्देशन



रासस

काठमाडौँ : सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमले खरिद गर्न लागेको ठूलो आकार (वाइड बडी) विमान सम्बन्धि सम्पूर्ण सूचना तथा जानकारी पाँच दिनभित्र समितिसमक्ष पेस गर्न सरकारलाई निर्देशन दिएको छ।
 
उक्त विमान खरिद प्रक्रियामा व्यापक अनियमितता भएको गुनासो सार्वजनिक भएपछि समितिको आजको बैठकले त्यस सम्बन्धमा सत्यतथ्य पेस गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको हो।
 
नेपाल वायुसेवा निगमको विस्तृत कार्ययोजना, वित्तीय योजना, निगम सञ्चालन तथा नयाँ विमान खरिद पछिको जनशक्ति व्यवस्थापनलगायत समग्र कार्ययोजना एक महिनाभित्र प्रस्तुत गर्न निर्देशन दिइएको समितिका सभापति डोरप्रसाद उपाध्यायले बताए।
 
'चीनबाट खरिद गरिएका विमान, खरिद मूल्य तथा नेपाल र चीनबीच सरकारीस्तरमा भएको सम्झौताबारे पनि समितिलाई लिखित जानकारी दिन निर्देश गरेका छौँ,' उनले भने।
 
निगमलाई सबल, सुदृढ एवम् भरपर्दो सेवा प्रदायक तुल्याउन गत वर्षको नीति तथा कार्यक्रममा रणनीतिक साझेदार भित्र्याउनेबारेमा उल्लेख भए पनि हालसम्म त्यसबारे कुनै काम नभएकाले आगामी तीन महिनाभित्र त्यससम्बन्धी ठोस कार्ययोजना पनि समितिसमक्ष पेस गर्न निर्देशन दिइएको जानकारी सभापति उपाध्यायले बताए।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell