PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

​नारायणी अस्पतालमा सुत्केरीको मृत्यु, चिकित्सकले लापरवाही गरेको परिवारको आरोप



राधेश्याम पटेल

​नारायणी अस्पतालमा सुत्केरीको मृत्यु, चिकित्सकले लापरवाही गरेको परिवारको आरोप

वीरगन्ज : नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा बच्चा चोरीको घटना सेलाउन नपाउँदै एक सुत्केरीको उपचारकै क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा पर्सा नगरदाहा–४ निवासी जवाहिर साह तुरहाकी २० वर्षीया पत्नी चन्द्रज्योति देवी रहेकी छिन्। चन्द्रज्योतिको आइतबार बिहान ४ बजे उपचारकै क्रममा प्रसुति वार्डमा मृत्यु भएको हो।

चिकित्सकको लापारवाहीका कारण पत्नी चन्द्रज्योतिको मृत्यु भएको मृतकका पति जवाहिरले आरोप लगाए।

बिहान १ बजे घरमै पहिलो सन्तानको रुपमा चन्द्रज्योतिले छोरी जन्माइन्। तर बच्चासँगै सालनाल बाहिर आएकोले बच्चा र आमालाई एम्बुलेन्समा बिहान २ बजे नारायणी उपक्षेत्रीय अस्पताल पुर्याइएको थियो।

प्रसुति वार्डमा उक्त समयमा ड्युटीमा खटेका चिकित्सक डा. सुरेन्द्र चौधरी अस्पताल ढिलो पुगेको परिवारको आरोप छ। समयमा उपचार नगरेका कारण सुत्केरीको मृत्यु भएको उनीहरुको आरोप छ।

‘अस्पताल ल्याएको दुई घण्टा बितिसक्दा पनि स्वास्थ्यकर्मीहरु गम्भीर भएनन्, चन्द्रज्योतिको ज्यान गयो’ पति जवाहिर बताउँछन्।

नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साहले चिकित्सकले सबै उपचार पद्दति अपनाउँदा पनि सुत्केरी महिलाको ज्यान बचाउन नसकिएको प्रतिक्रिया दिए।

‘घरमै प्रसुति गराउँदा धेरै रगत बगिसकेको थियो। अवस्था गम्भीर थियो’, उनले भने ‘उपचारमा डाक्टर सुरेन्द्र खटेका थिए। रगत चढाउन लागेका थियौँ त्यतिकैमा उनको मृत्यु हुन गएको हो।’

मृतक चन्द्रज्योतिले जन्माएको बच्चा भने स्वस्थ रहेको अस्पतालले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell