गौशाला : महोत्तरीको जलेश्वर नगरपालिकाले जिल्ला सदरमुकाम जलेश्वरभित्रका एक सयभन्दा बढी घरटहरा आइतबार भत्काएको छ।
नगरभित्रको बाटो फराकिलो बनाएको र पसलेले अतिक्रमण गरेको जग्गा खाली गराएको भन्दै जलेश्वर नगरपालिकाले नगरभित्रका पसल जथाभावी तोडफोड र भत्काउने काम गरेको पसलेले आरोप लगाएका छन्। नगरपालिकाका कार्यकारी अधिकृत भानुभक्त बरालले भने जिल्ला प्रशासन कार्यालयको निर्णयअनुसार नगरभित्रको अतिक्रमित जग्गा खाली गराएको बताए।
यसरी नगरपालिकाले एकाएक व्यापारीको संरचना भत्काउन थालेपछि व्यापारीले नगरपालिकाको स्काभेटरलाई नगरपालिका कार्यालयकै अगाडि घेरेर सामान्य ढुङ्गामुढा गरी तोडफोड गरेका थिए।
व्यापारीले एक्सकाभेटरमा तोडफोड गर्दा स्थिति तनावग्रस्त बनेपछि आइतबार साँझ सर्वदलीय समितिले नगरपालिका कार्यालय प्रमुख भानुभक्त बरालसँग वार्ता गरेका थिए। तर वार्ता विनानिष्कर्ष टुंगिएको छ।