
सुनसरी : नेकपा एमालेको मेची-महाकाली राष्ट्रिय अभियानअन्तर्गत सप्तरीको राजविराज सभा हुँदैछ। इनरुवाको कार्यक्रम सकी एमाले नेता कार्यकर्ता त्यसतर्फ लागेका छन्।
तर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सभा बिथोल्ने चेतावनी दिएपछि राजविराज पुग्ने रुट परिवर्तन गरिएको छ। सप्तरीको भारदह हुँदै हनुमाननगरबाट राजविराज प्रवेश गर्ने रुट तय गरिए पनि मोर्चा कार्यकर्ताको अवरोध सम्भावनाका कारण पूर्व-पश्चिम राजमार्ग हुँदै रुपनीबाट औद्योगिक क्षेत्र पुग्ने रुट तय गरिएको हो।
अभियानमा पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालसहित केन्द्रीय टोली सामेल छ। इनरुवामा सभा सुरु हुनुपूर्व मधेसी मोर्चाका केही कार्यकर्ताले विरोध प्रदर्शन गरेका थिए। इनरुवा चोकमा मोर्चाका कार्यकर्ताहरुले कालो झन्डा देखाएका थिए। प्रहरीको लाठीचार्जमा केही कार्यकर्ता घाइते भएका छन्। एमाले अभियानमा सामेल एक गाडीमातोडफोड गरिएको छ। इनरुवामा भएको सभालाई नेता लालबाबु पण्डित, भगवती चौधरी लगायतले सम्बोधन गरेका थिए।
फागुन २१ गते झापाको काँकडभिट्टाबाट सुरु भएको मेची-महाकाली राष्ट्रिय अभियान अन्तर्गत आजै सप्तरीको कञ्चनपुरमा पनि कार्यक्रम हुँदैछ।