PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

खुर्पा प्रहार गरी श्रीमतीको हत्या गर्नेलाई सर्वस्वसहित जन्मकैद



रासस

खुर्पा प्रहार गरी श्रीमतीको हत्या गर्नेलाई सर्वस्वसहित जन्मकैद

लिबाङ (रोल्पा) : आफ्नै श्रीमती हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नुवागाउँ–८ रोल्पाका ५५ वर्षीय ओसबहादुर घर्तीमगरलाई जिल्ला अदालत रोल्पाले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ।
 
घर्तीमगरले गत साउन ४ गते घरायसी विवादका कारण ४७ वर्षीया श्रीमती मनसरी घर्तीमगरलाई खुर्पा प्रहार गरेको र सोही कारणबाट मृत्यु भएको थियो। पीडकलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको दफा १३(३) बमोजिम सर्वस्वसहित जन्मकैदको फैसला गरेको जिल्ला अदालत रोल्पाका न्यायाधीश कमलप्रसाद ज्ञवालीले जानकारी दिए।
 
मृतक मनसरीका छोराले जिल्ला अदालत रोल्पामा दिएको जाहेरीमा बाबु ओसबहादुरले आमालाई धेरै पहिलेदेखि मादकपदार्थ सेवन गरी कुटपिट गर्नुका साथै घरेलु हिंसा गर्दै आएको उल्लेख गरिएको छ। श्रीमानको कुटाइका कारण मृतक मनकुमारी पटकपटक माइतीमा बस्दै आएकी थिइन्।
 
जाहेरी दरखास्तमा उल्लेख भएअनुसार घटना घटेको करिब चारपाँच दिन पहिलेदेखि मनसरी र उनका श्रीमान् गाईबस्तुसहित घरदेखि केही टाढाको गोठमा बस्दै आएका थिए।
 
गोठमै सामान्य विवादपछि श्रीमतीको हत्या गरी घर पुगेका ओसबहादुरले निराश एवम् हतोत्साहित बन्दै छोरालाई आमा मरेको कुरा सुनाएपछि छोरा घटनास्थल पुगेका थिए। घटनास्थलमा पुग्दा भित्रबाहिर सबैतिर रगत जमेको देखिपछि मृतकका छोरा दीपेन्द्रले इलाका प्रहरी कार्यालय होलेरीमा घटनाका बारेमा उजुरी दिएका थिए। यसपछि होलेरी प्रहरीले विस्तृत रुपमा छानबीन तथा अनुसन्धान गरी पीडकलाई पुर्पक्षका लागि थुनामा राखेको थियो।
 
यसैगरी जौलीपोखरी–२ रोल्पाका ३३ वर्षीय बलबहादुर बुढालाई पनि जिल्ला अदालत रोल्पाले सर्वश्वसहित जन्मकैदको फैसला गरेको छ। बुढाले सल्लाको खोटो सङ्कलन गर्ने क्रममा पटकपटक विवाद भएपछि सोही गाविसका ६३ वर्षीय खरवीर बस्नेतलाई ढुङ्गा प्रहार गरी हत्या गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell