
काठमाडौं : आगामी चैत दोस्रो साता म्याग्दीमा सर्वाधिक नगद पुरस्कार राशीको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। गँगटा युथ क्लबको आयोजना तथा म्याग्दी जिल्ला बयाडमिन्ट एशोसिएसनको आयोजनामा चैत ९ देखि १२ गतेसम्म चौथो राष्ट्रिय स्तरको च्यामिपयनसिप हुन लागको हो।
यसअघिका तीन संस्करण राजधानीमा गरेको आयोजकले पर्यटनको प्रवर्दन गर्ने र स्थानिय खेलाडीको सहभागिता र विकासमा सहयोग पुर्याउने उद्देश्यले पहिलो पटक मोफसलमा प्रतियोगिता आयोजना गर्न लागेको क्लबका अध्यक्ष रेशम पुनले बताए।
प्रतियोगिता म्याग्दीको सदरमुकाम बेनी कालिपुलस्थित बेनी कबर्ड हलमा आयोजना हुनेछ।
प्रतियोगितामा विभिन्न ५ विधा समावेश छन्। प्रतियोगिताको मुख्य विधाको रुपमा रहदै आएको मेन्स डबल्स विधाको विजेताले नगद १ लाख पुरस्कार र स्वर्ण पदक प्राप्त गर्नेछन्। उपविजेताले ५० हजार रजत पदक तथा तेस्रो हुनेले १० हजार कास्य पदक पाउनेछन्।
स्थानिय पर्यटकिय स्थानको विकास गर्ने लक्ष्यसहित विधिन्न विधालाई विभिन्न स्थानको नाममा राखिएको छ। जस अन्तर्गत रुप्से मेन्स सिंगल्स, अन्था गल्छी मेन्स डबल्स, सिंगा हट वुमन्स सिंगल्स, गलेश्वर भेट्रान डबल्स र पूनलिह ब्वाइज सिंगल्स यु १७ रहेका छन्।
मेन्स सिंगल्स र वुमन्स सिंगल खुल्ला रहेको र यसमा राष्ट्रिय स्तरका खेलाडीहरुको समेत सहभागिता रहने आयोजकले जनाएको छ। यस्तै स्थानिय खेलाडीको मुख्य सहभागिता रहने मेन्स डबल्समा शीर्ष १६ वरीयताका बाहेकका खेलाडीले मात्र सहभागिता जनाउनेछन्।
भेट्रमा ४५ वर्षभन्दा माथिका खेलाडीले सहभागिता जनाउनेछन् भने यु १७ ब्वाइजमा पनि राष्ट्रिय स्तरका खेलाडीकौ सहभागिता रहनेछ।
यसै संस्करणबाट वुमन्स सिंगल विधा थप गरिएको हो।
मेन्स सिंगल्सको विजेताले नगद ६० हजार र स्वर्ण पदक, उपविजेताले ३० हजार र रजत पदक तथा तेस्रो हुनेले १० हजार र कास्य पदक पाउने छन्।
यस्तै वुमन्स सिंगल्स र भेट्रानतर्फको विजेताले समान ३० हजार र स्वर्ण पदक पाउनेछन् भने उपविजेताले १५ हजार रजत पदक तथा तेस्रो हुनेले ५ हजार कास्य पदक हात पार्नेछन्।
यु १७ ब्वाइज सिंगल्सका विजेताहरुलाई भने काठमाडौं जिल्ला ब्याडमिन्टन संघले पुरस्कार प्रायोजन गरेको छ।
प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहने अध्यक्ष पुनले जानकारी दिए।
प्रतियोगिताको भाग लिन मेन्स डबलसतर्फ ३ हजार, भेट्रान डबलसतर्फ २ हजार मेन्स सिंगल्स र वुमन सिंगल्सतर्फ १५ सय तथा यु १७ ब्वाइज सिंगल्सतर्फ एक हजार रहेको छ।
प्रतियोगिताको लागि करिब २१ लाख खर्च हुने र नगद पुरस्कार रकम एसआर कम्पनी लिमिटेड हङकङले प्रायोजन गर्ने आयोजकले जनाएको छ।
प्रतियोगितामा खेलाडीहरुको खान बस्नको लागि सम्पूर्ण व्यवस्था म्याग्दी जिल्ला खेलकुद विकास समितीले गर्नेछ।