PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

कसले चलायो सप्तरीमा गोली? प्रहरी भन्छ - 'हामीले होइन'



सविन ढकाल

कसले चलायो सप्तरीमा गोली? प्रहरी भन्छ - 'हामीले होइन'

काठमाडौँ : जिल्ला प्रहरी कार्यलय सप्तरीका प्रमुख एसपी दिवश लोहनीले सोमबार राजविराजमा भएको झडपमा प्रहरीका तर्फबाट एक राउन्ड पनि गोली नचलाएको दावी गरेका छन्।

सोमबार राति पहिलोपोस्टसँगको कुराकानीमा उनले प्रहरीबाट एउटा पनि गोली नचलेको र मृत्यु भएको बारेमा कुनै जानकारी नभएको बताए।

उनले भने, ‘हामीसँगै सशस्त्र प्रहरी पनि थियो। सशस्त्रले गोली चलायो भने जान्दैनौँ, हाम्रो तर्फबाट गोली चलको छैन।'

उनले प्रहरीले अश्रुग्यासमात्र चलाएको दावी गरे।

के भन्छ सशस्त्र प्रहरी?

यो विषयमा सशस्त्र प्रहरी बलका प्रवक्ता दीवाकर केसीले घटनाबारे आफूले पनि बुझिरहेको प्रतिक्रिया पहिलोपोस्टलाई दिए। 

प्रजिअको मोबाइल स्विच अफ

स्थानीय प्रशासन ऐन अनुसार स्थिति नियन्त्रणमा लिन बल प्रयोग गर्ने आदेश प्रमुख जिल्ला अधिकारीले दिने गर्छन्। यस विषयमा  केही समयअघि सम्पर्क गर्दा आफू पनि टिभी हेरेर अपडेट लिँदै गरेको बताएका प्रमुख जिल्ला अधिकारीको मोबाइल पछि स्विच अफ थियो।
 

एक प्रदर्शनकारीको मृत्यु

सप्तरीको राजविराजस्थित औद्योगिक क्षेत्रमा एमालेले मेची काली यात्रा अन्तर्गत गरेको सभास्थल नजिकै मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडपका क्रममा प्रहरीले चलाएको गोली लागी एक जनाको मृत्यु भएको आधिकारिक रुपमा पुष्टि भएको छ।

अर्का एक गम्भीर घाइतेको पनि मृत्यु भएको भनिए पनि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन। तर अस्पताल स्रोतले गम्भीर घाइतेको मृत्यु भएको बताएको हो।

प्रहरीको गोली लागि घाइते भएका ११ जना मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ। पहिलोपोस्टका स्थानीय संवाददाताले दिएको जानकारी अनुसार ६ जनामध्ये ४ जनाको अवस्था अति गम्भीर भएकाले  राजविराजको सगरमाथा अञ्चल अस्पतालले गम्भीर घाइते ६ जनाको थप उपचारको लागि सुनसरीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरेको छ।

कार्यक्रम सकिएर एमाले नेताहरु कञ्चनपुरतिर बास बस्न लागेपछि भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। यस क्रममा गोली चलाउँदा महठा गाविस वडा नम्बर २ का  रन्जन मेहताको मृत्यु भएको हो। उनको टाउकोमा प्रहरीको गोली लागेको थियो। 

कसरी भयो घटना ?

प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालका अनुसार कार्यक्रम सुरु हुनुअघिदेखि नै विरोध प्रदर्शन गरिरहेका मधेसी मोर्चाका कार्यकर्ताहरु कार्यक्रम स्थलमा प्रवेश गर्न खोजेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको थियो। उनका अनुसार प्रदर्शनकारीहरुमध्ये सात जनालाई गोली लागेको थियो।

'तीमध्ये एक जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर र पाँच जना उपचाररत छन्,' खनालले दावी गरे, 'प्रहरीतर्फ २२ जना घाइते भएका छन्।' 

गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले गोली लागी एक जनाको मृत्यु र दुई जना घाइते भएको पुष्टि गरे। यसबारे थप जानकारी आउन बाँकी रहेको उनले बताए। 

एमालेले शनिबारदेखि सुरु गरेको मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत आज सुनसरीको इनरुवामा सभा सकेर प्रदेश नम्बर २ प्रवेश गर्दै राजविराज पुगेको थियो। त्यहाँको औद्योगिक क्षेत्रमा सभा चलिरहँदा पनि सभास्थल वरपर मोर्चाका कार्यकर्ताले प्रदर्शन जारी राखेका थिए।

सभा सुरु हुनु अघि राजविराज–रुपनी सडक खण्डको औद्योगिक क्षेत्रमा अगाडि  झडपका क्रममा पनि मोर्चाका नेता तथा कार्यकर्ता घाइते भएका थिए। 

यी हुन् घाइते

प्रहरीको लाठी चार्जबाट सद्भावनाका भीमराज यादव, लक्ष्मण यादव, सुरेन्द्र साह, दिनेश साह, मेलेठ गाविस–३ का निरज यादव, दिघवाका सम्पतकुमार मण्डल, मलेकपुर गाविस–५ का जयनारायण यादव, झुटकी–४ का वीरेन्द्र यादव, महदेवा–१ का शोभालाल यादव, दिघवा–८ का शंकरकुमार यादव, त्रिकौल गाविस–७ का मुकेशकुमार यादवसहित घाइते भएका छन्। 




  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell