PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

सप्तरी घटनाबारे सुरक्षा निकायको निष्कर्ष: टिकापुर घटना दोहोरिन नदिन बल प्रयोग



पहिलोपोस्ट

सप्तरी घटनाबारे सुरक्षा निकायको निष्कर्ष: टिकापुर घटना दोहोरिन नदिन बल प्रयोग

काठमाडौं : गृहका अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरुको बैठकले बल प्रयोग नगरे सप्तरीमा पुन कैलालीको टिकापुरझै घटना दोहोरिने जोखिम भएकाले सुरक्षाकर्मीले बल प्रयोग गरेको निष्कर्ष निकालेका छन्। 

प्रहरी प्रधान कार्यालयमा बसेको नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखको समिक्षा बैठकले सय सेल बढी अश्रृग्याँस र हवाई फायर गर्दा समेत प्रदर्शनकारी पछी नहटेको र प्रहरीमाथी आक्रमण गर्दै एमाले नेता कार्यकर्ता भएको स्थानतिर अगाडि बढेकाले सम्भावित झडप र त्यसले निम्त्याउन सक्ने भयावह अवस्था रोक्न सुरक्षाकर्मीले गोली चलाउनुपरेको निष्कर्ष निकालेको हो।

सप्तरीमा सुरक्षाकर्मीले चलाएको गोली लागेर ४ जनाको मृत्यु भएपछि गृह मन्त्रालयको सुरक्षा महाशाखाका प्रमुख बालकृष्ण पन्थी सहितको सुरक्षा समिक्षा बैठक बसेको थियो।


बैठकस्रोतका अनुसार प्रमुख जिल्ला अधिकारी,नेपाल प्रहरी, सशस्त्र प्रहरीका स्थानीयतहका सुरक्षा अधिकारीबाट आएको जानकारी र वस्तुथितीको विश्लेषणका आधारमा दोस्रो टिकापुर घटना हुनबाट रोक्न बल प्रयोग भएको निष्कर्षमा पुगेको बैठकस्रोतले बतायो।

'एमालेको सभा शुरु हुनुभन्दा अगाडिदेखिनै सुरक्षाकर्मीलाई प्रदर्शनकारीले प्रेसरमा पारेका थिए' बैठकको समिक्षाबारे जानकारीदिँदै एक सुरक्षा अधिकारीले भने' प्रहरीको चेतावनी, टियर सेल र हवाई फायर गर्दा समेत प्रदर्शनकारीले सुरक्षाकर्मी दपेट्ने र एमाले समर्थक भएतिर आउने प्रयास नरोकेपछि गोली चलेको देखियो।'

कार्यक्रमस्थल वरिपरीको सुरक्षाका लागि प्रहरी र सशस्त्र गरी ३ सय भन्दा बढि खटिएका थिए। प्रदर्शनकारीको आक्रमणबाट घाइते हुने प्रहरीको संख्या बढ्नु, पटक-पटकको चेतावनी नमानी स्थानीय प्रदर्शनकारी मेची महाकाली अभियानमा सहभागी हुन आएका समूह भएतिर अगाडि  बढ्नुले सुरक्षाकर्मी प्रेसरमा आएका थिए।

तीन जना पूर्व प्रधानमन्त्री सहभागी कार्यक्रमको सुरक्षा प्रवन्ध सफल भए पनि अभियानमा सहभागीहरु फर्किएपछि अभियानमा सहभागी भएका स्थानीय र विरोधमा उत्रिएको समूह आमनेसामने हुँदा हुनसक्ने मानविय क्षती रोक्न सुरक्षाकर्मी गोली चलाउन बाध्य भएको बैठकको निष्कर्ष देखियो।

स्रोतका अनुसार सुरक्षामा संयुक्त रुपमा परिचालित भएको सशस्त्र प्रहरीले गोली चलाउनु परेको र उसले एसएलआरबाट गोली चलाउँदा मानविय क्षती बढेको बैठकले निष्कर्ष निकालेको छ। करिव ८ वजे शुरु भएको बैठक बेलुका १० वजे सकिएको थियो।

'मधेसको सुरक्षाको अनुगमन र विश्लेषण गर्न गठन गरिएको कमाण्ड सेन्टरको समिक्षा बैठक बसेको हो,' गृह प्रवक्ता समेत रहेका पन्थीले भने' घटनाको समिक्षासँगै सुरक्षा सतर्कता बढाउन आवश्यक रणनीति बनेको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell