PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

वैदेशिक रोजगारीमा देखिएको समस्या समाधानका लागि सरकारले बनायो कार्यदल



रासस

काठमाडौँ : सरकारले वैदेशिक रोजगारीमा देखिएका समस्याको प्याकेजमा समाधान गर्ने कामको गृहकार्य गर्न पाँच सदस्यीय गृहकार्य कार्यदल गठन गरेको छ। वैदेशिक रोजगारीका समस्या समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको उच्चस्तरीय बैठकले गृहकार्य कार्यदल गठन गरेको छ।
 
बैठकले प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा गृह, अर्थ, परराष्ट्र र श्रम तथा रोजगार मन्त्रालयका सहसचिव रहने गरी पाँच सदस्यीय कार्यदल गठन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
 
कार्यदललाई एक हप्ताभित्र वैदेशिक रोजगारीमा देखिएका समस्या, नेपाली श्रमिकले भोग्नुपरेका कठिनाइ र त्यसलाई समाधान गर्ने ठोस उपायको प्रस्ताव गर्न कार्यदेश दिइएको छ।
 
प्रतिबन्धित देशहरुमा भ्रमण भिसालगायतका भिसामा नेपाली कामदारहरु जाँदा विभिन्न कठिनाई भोग्नु परेको, वैदेशिक रोजगारीमा पठाउने अधिकांश मेनपावर जिम्मेवार नदेखिएको, थुप्रै नेपाली भारत हुँदै वैदेशिक रोजगारीमा जाँदा नियमन गर्न समस्या आएको, सीपमूलक र अभिमुखीकरण तालिम नदिई वैदेशिक रोजगारीमा जाँदा नेपाली कामदारले दुख पाउने गरेको, वैदेशिक रोजगारसँग सम्बन्धित ऐनमा कमी भएको तथा भएको कानुनी व्यवस्था पूर्णरुपमा कार्यान्वयन नभएको, नेपाल सरकारले नै गन्तव्य मुलुकसँग राज्यस्तरबाट श्रम सम्झौता नगर्दा समस्या आएको, करार अवधिअघि नै कम्पनीहरु टाट पल्टँदा नेपाली कामदार अलपत्र परेको, मलेसिया जाने कामदारबाट अवैधानिक रुपमा चर्को आर्थिक ठगी गर्ने गरिएको, अध्यागमन, दूतावास र विमानस्थलका कर्मचारी कामदारप्रति जिम्मेवार र संवेदनशील नभएकोलगायत विषयमा बैठकमा गम्भीर छलफल भएको जनाएको छ।
 
बैठकमा विदेशी जेलमा रहेका, जन्मकैद र मृत्युदण्डको फैसला सुनाइएका नेपाली कामदारको उद्धार कसरी गर्न सकिन्छ भन्ने विषयमा विशेष छलफल भएको छ।
 
बैठकमा कुवेत, साउदी अरब, मलेसिया, कतार, युएई, ओमान, दक्षिण कोरिया, बहराइन, इजरायललगायतका देशका विभिन्न जेलमा २३१ जनाभन्दा बढी नेपाली कामदार रहेको, ३३ जना नेपाली कामदारलाई मृत्युदण्डको फैसला सुनाइएको, २२ जना नेपाली कामदारलाई जन्मकैदको फैसला सुनाइएको र कानुनी प्रक्रियामार्फत् उद्धार गर्न सकिने नेपाली कामदारका लागि पच्चीस करोडभन्दा बढी ‘ब्लड मनी’को व्यवस्था गर्नुपर्ने विषयमा पनि छलफल भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell