PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

वैज्ञानिक खोजमा नेपालीको सफलता, पत्ता लाग्यो क्षुद्रग्रह



रासस

काठमाडौं : गत माघ ६ गतेदेखि फागुन ७ गतेसम्म सञ्चालित राष्ट्रव्यापी नेपाल क्षुद्रग्रह खोज अभियान–२०१७ अन्तर्गत पहिलोपटक छ वटा क्षुद्रग्रह पत्ता लागेका छन्।
 
अभियानका लागि नेपालबाट पाँच टोली छनोट गरिएकामा चार टोली काठमाडौंका र एक टोली पोखराका भएको बताइएको छ।
 
अभियानका क्रममा सहभागी टोलीलाई अमेरिकाको हवाईस्थित पानोरामिक सर्वे टेलिस्कोप तथा रापिड रेस्पोन्स सिस्टम (प्यान्स्टार्स)ले खिचेका तस्बिर तथा आवश्यक सफ्टवेयर र निर्देशन दिइएको थियो। सोका आधारमा उनीहरुले यहीँ नै ती क्षुद्रग्रह पत्ता लगाएर अमेरिका पठाइएको हो। सो खोज प्रमाणित हुन भने केही वर्ष पर्खनुपर्ने हुन्छ।
 
टोलीमा काठमाडौंको सेलिब्रेसन कोएड विद्यालयलगायतका विद्यार्थी तथा पोखराको पृथ्वीनारायण क्याम्पसका शिक्षक तथा विद्यार्थी र नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का क्लव सदस्यहरु सहभागी थिए।
 
खोज नयाँ र प्रमाणित भएमा ती क्षुद्रग्रहलाई नेपाली नाम पनि दिन सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए।
 
अभियानका सहभागी टोलीले प्यान्स्टार्समार्फत प्राप्त तस्बिरमा भेटिएका लगभग एकलाख ८० हजार चलायमान पिण्डको परीक्षण गरेका थिए। प्यान्स्टार्सका हाल एक दशमलव आठ मिटरका दुई वटा टेलिस्कोप सञ्चालनमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell