
इलाम : इलाम नगरपालिका कार्यालय र सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामले सदरमुकाममा ३३० वटा सौर्य सडकबत्ती जडान गर्ने भएको छ।
इलाम नगरपालिका कार्यालयले स्थानीयको साझेदारीमा १३० वटा सडकबत्ती जडान गर्ने भएको छ। यसमा उपभोक्ताको ३५ प्रतिशत र स्थानीय विकास मन्त्रालयको बाँकी लगानीमा सडकबत्ती जडान गरिने नगरपालिकाका प्राविधिक मेघनाथ ढुङ्गानाले बताए।
सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामले १२० सौर्य सडकबत्ती जडान गर्ने भएको छ। नगरपालिकाभित्रको चार किलोमिटर सडक क्षेत्रमा सौर्यबत्ती जडान गरिने कार्यालयका कमलनिधि चापागार्इंले बताए।
सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले राख्ने सौर्य सडकबत्तीका लागि प्राथामिकता निर्धारण गरिसकेको छ। भानुपथदेखि थेवेचोक, बसपार्कदेखि चोकबजार हुँदै मालापथ र धोबीधारा क्षेत्रसम्म सौर्य सडकबत्ती जडान गर्ने जनाएको छ।
सरकारी कार्यालय परिसरमा थप ८० वटा सौर्य सडकबत्ती जडान गरिने बताइएको छ। त्यसका लागि पनि प्राथमिकता निर्धारण भइसकेको छ।
यहाँ रहेका सबैजसो सरकारी कार्यालयमा सौर्य सडकबत्ती जडान हुने सहरी विकासका चापागाईंले बताए।
'सौर्य सडकबत्ती राख्नका लागि अहिले सर्वे सम्पन्न भइसकेको छ', चापागाईले भने 'वैशाख/जेठसम्ममा काम सकिन्छ।' सोही कार्यक्रमअन्तर्गत केही कार्यालयमा भने वर्षात्को पानी सङ्कलनको काम पनि गरिनेछ।