
काठमाडौं : सप्तरीको सीमा सुरक्षा कार्यालयका प्रमुख एसपी जयबहादुर खड्काको सरुवा भएको छ।
सोमबार भएको झडपमा सशस्त्रको तर्फबाट बढी बल प्रयोग भएको देखिएपछि गृह मन्त्रालयको निर्देशनमा सशस्त्र मुख्यालयले उनलाई काठमाडौं बोलाएर उनको स्थानमा एसपी रामाधर यादवलाई पठाएको छ।
एमालेको मेची-महाकाली यात्राको क्रममा सोमबार राजविराजमा भएको झडपमा तीन जनाको ज्यान गएपछि सुरक्षा निकायले बढी बल प्रयोग गरेको भन्दै आलोचना भएपछि गृह मन्त्रालयले सुरक्षा अवस्थाबारे बुझ्न जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी दिवेश लोहनी र प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिनालाई मंगलबार काठमाडौं बोलाएको थियो।
सशस्त्रका एसपीको सरुवा भएको पुष्टि भए पनि प्रहरीका एसपी र सिडिओलाई जानकारीका लागि मात्रै बोलाइएको हो या उनीहरुको पनि सरुवा भएको हो पुष्टि हुन सकेको छैन।
सोमबारको घटनाको विरोधमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले सशस्त्र लक्षित आक्रमण सुरु गरेपछि सो क्षेत्रमा सुरक्षा जनशक्ति समेत बढाइएको छ। प्रदर्शनकारीले भारदहमा रहेको सशस्त्रको चेकपोस्ट जलाइदिएका छन्। नजिकैका जिल्लामा रहेका करिब तीन सय सशस्त्र प्रहरी जनशक्ति राजविराजमा थपिएको हलचोक स्रोतले जानकारी दियो। फोटो:www.hariyopati.com