
रविचन्द्रन आश्विनले ६ विकेट लिएपछि भारतले दोस्रो टेष्टमा अष्ट्रेलियालाई ७५ रनले पराजित गर्दै ४ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ।
१८८ रनको सामान्य लक्ष्य पछ्याएको भ्रमणकारी टोलीलाई ११२ रनमा अलआउट गर्दै भारतले शानदार जित हात पारेको हो।
भारत २१३/४ (चेतेश्वर पुजरा ७९ र अजिन्का रहाने ४०) बाट चौथो दिनको खेल सुरु गरेको भारतले थप ६१ रन जोड्दा बाँकी ६ विकेट गुमाउँदै दोस्रो इनिङ्समा २७४ रन बनायो।
उसका लागि पुजराले सर्वाधिक ९२ रन बनाए भने अजिन्का रहानेले ५२ रन जोडे। विकेटकिपर ऋद्दीमन शाह २० रनमा अविजित रहे।
अष्ट्रेलियाका लागि जोस हाजेलउडले सर्वाधिक ६ विकेट लिए भने नाथन लियोन र स्टिभ ओ कपले समान २ विकेट लिए।
१८८ रनको सामान्य लक्ष्य पछ्याएको कंगारु टोली भारतिय बलरको घातक बलिङसामु टिक्न सकेन। अष्ट्रेलियाका लागि कप्तान स्टिभ स्मिथले सर्वाधिक २८ रन बनाए भने पिटर ह्याण्ड्सकम्बले २४ रन जोडे।
यस्तै डेविड वार्नर १७ तथा मिचेल मार्स १३ रन बनाएर आउट भए भने बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन्। भारतका लागि आश्विनले ६ विकेट लिए। उमेश यादवले २ तथा इशान्त शर्मा र रविन्द्र जडेजाले १/१ विकेट झारे।
आश्विनले ५ वा सो भन्दा बढी विकेट लिएको यो २५औं अवसर हो।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङ्मा १८९ रन मात्र बनाएको थियो भने अष्ट्रलयाले पहिलो इनिङ्समा २७६ रन जोडेको थियो।
जितपछि भारतले ४ खेलको टेष्ट सिरिजमा १-१ को बराबरी गरेको छ।
पुनेमा भएको पहिलो टेष्ट अष्ट्रलियाले ३३३ रनले जितेको थियो। तेस्रो टेष्ट राचीमा अर्को बिहीबारबाट सुरु हुनेछ।