
काठमाडौं : सप्तरीको प्रदर्शनमा बढी बल प्रयोग गरेको भन्दै गृह मन्त्रालयले स्थानीय सुरक्षा प्रमुखको सरुवा गरेको छ। सोमबारको घटनाबारे जानकारी लिन मंगलबार बिहान उनीहरुलाई काठमाडौं डाके पनि सरुवाको निर्णय भने भएको थिएन।
बिहान गृहमन्त्री विमलेन्द्र निधिले सुरक्षा संगठनका प्रमुखसँग छलफल गरे। सशस्त्र प्रहरी बलले सिमा सुरक्षा कार्यालय सप्तरीका एसपी जयबहादुर खड्काको सरुवा गर्दै अर्का एसपी रामाधर यादवलाई पठाए पनि प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिना र जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी दिवेश लोहनीबारे निर्णय भएको थिएन।
गृहमन्त्रीका सञ्चारविज्ञ रामजी दाहालका अनुसार मंगलबार दिउँसो प्रमुख जिल्ला अधिकारी, सशस्त्र र नेपाल प्रहरीका एसपीसँगै जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी दानबहादुर कार्कीलाई समेत काठमाडौमा तान्ने निर्णय भएको हो।
एमालेको मेची-महाकाली अभियानको क्रममा राजविराजमा सोमबार मधेसी मोर्चा समर्थक र सुरक्षाकर्मीबीच झडपहुँदा तीन जनाको मृत्यु र ७ जना घाइते भएका थिए। घटनापछि सुरक्षाकर्मीले अधिक बल प्रयोग गरेको भन्दै आलोचना भए पनि प्रहरी प्रधान कार्यालमा रहेको सुरक्षा कमाण्ड सेन्टरले' गम्भीर घटना हुनबाट रोक्न बल प्रयोग भएको' निष्कर्ष निकालेको थियो।
स्रोतका अनुसार गृहमन्त्री निधि सुरक्षा अधिकारीहरुसँग राजविराजमा भएको घटना र सुरक्षा अवस्थाबारे ब्रिफिङ् लिएपछि मात्रै स्थानीय सुरक्षा प्रमुखबारे निर्णय गर्ने मुडमा थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोली चल्दा भएको मानवीय क्षतिपछि मधेसी मोर्चाको नेतृत्व र समर्थक आक्रोशित रहेकाले सामान्यीकरण गर्न सुरक्षा प्रमुख परिवर्तन गर्न निर्देशन दिएपछि मन्त्रालयले जानकारी लिन काठमाडौं बोलाइएको चारै जनालाई यतै राखेर उनीहरुको स्थानमा नयाँ प्रमुख पठाउने निर्णय गरेको हो।