काठमाडौँ : नेकपा एमालेले सप्तरी घटनाको विषयमा गृहमन्त्री विमलेन्द्र निधिले स्पष्ट जवाफ दिनुपर्ने माग गरेको छ।
पार्टीको मेची-महाकाली राष्ट्रिय अभियानका क्रममा सोमबार सप्तरीको राजविराजमा प्रहरीसँगको झडपमा तीन जनाको ज्यान गएको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एमालेको यस्तो धारणा आएको हो। घटना सुनियोजित भएको भन्दै पार्टी महासचिव ईश्वर पोखरेलले यसबारे सरकार र मानवअधिकार आयोगले छानबिन गर्नुपर्ने बताए। 'टीकापुर, रंगेली र गौर घटना पुनरावृत्ति गर्नेगरी प्रपञ्च गरिएको छ,' उनले भने, 'स्थितिलाई अझ सामान्य बनाउन रंगशालामा हुने कार्यक्रम गजेन्द्र नारायण सिंह ओद्योगिक क्षेत्रमा सार्यौं तर अभियानमा सहभागी नेता-कार्यकर्तामाथि घेरा हाली सामूहिक हत्याको प्रयास गरियो।'
सप्तरीका सिडिओ र प्रहरी प्रमुखलाई फिर्ता बोलाउने गृह मन्त्रालयको निर्णयले आफूहरु अझ सशंकित भएको महासचिव पोखरेलले बताए। जारी विज्ञप्तिमा भनिएको छ, 'प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र बलका प्रमुखहरुलाई फिर्ता बोलाउने गृह प्रशासनको निर्णयले अझ आशंका बढाएको छ। सुरुदेखि नै गृहमन्त्रीले अभियानप्रति प्रदर्शन गरेको आपत्तिजनक रवैया र भूमिकाको पृष्ठभूमिमा हेर्दा उहाँले यसको जवाफदेहिताबाट उन्मुक्ति पाउने अवस्था छैन।'
मधेसी मोर्चाका कार्यकर्ताहरुले २१ गतेदेखि नै ब्यानर च्यात्ने, तोडफोड गर्ने, एमाले कार्यकर्तामाथि धम्की दिने गर्दै आए पनि त्यसो नगर्न आफूहरुले मोर्चाका स्थानीय नेताहरुलाई आग्रह गर्दै आएको उनले बताए।
'संविधान र विश्वव्यापी लोकतान्त्रिक अभ्यासअनुरुप शान्तिपूर्ण अभियान चलाउँदा पनि कालो मोसो दल्ने, सवारीसाधन तोडफोड गर्ने र सभा बिथोल्ने कार्य गरिएको छ। यसको नियत शान्ति र सद्भाव बिथोल्ने बाहेक अरु देखिन्न,' पोखरलेले भने, 'यो स्थानीय तहको निर्वाचन हुन नदिने र दलबीच द्वन्द्व चर्काउने नियतले गरिएको देखिन्छ।'
जनताको साथ नपाउने भएपछि र एमालेले मधेसमा रचिएको भ्रम चिर्छ भन्ने सोचेपछि यस्तो घटना गराइको उनले बताए।
आफ्ना कार्यकर्ताहरु पनि घाइते भएको र ५० जति गाडीमा क्षति पुर्याइएको भन्दै उनले तीन दिन अभियान रोकेर २७ गतेदेखि पूर्ववत् रुपमा नै कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।