
एक समयका निकै मिल्ने दुई बलिउड अभिनेता हुन् सञ्जय दत्त र सलमान खान। सञ्जयले सलमानलाई आफ्नो भाइ भनेर सम्बोधन गर्थे। तर गत एक वर्षयता यी दुईको बिग्रिएको समबन्ध बलिउड गसिप बनेको छ।
सञ्जय दत्त कारागारबाट बाहिर निस्किएपछि सलमान भेट्नसमेत नगएको वेब दुनियाँले जनाएको छ। खबर सार्वजनिक भएको केही समयमै सञ्जय दत्तले व्यङ्ग्यात्मक ढङ्गमा 'अभिमानी' भने।
सञ्जयले बलिउड मिडियासँग आफ्नो र सलमानको सम्बन्ध सुमधूर नै रहेको बताए पनि व्यवहारमा त्यस्तो देखिँदैन। उनले भने,'सलमान र मेरो बीचमा कुनै मनमुटाव छैन। उनलाई अभिमानी भन्नुमा नि नराम्रो आशय छैन। म पनि अभिमानी नै बन्न चाहन्छु तर प्यारो अभिमानी।'
सम्बन्ध बिग्रनुको खास कारण के हो त?
वेब दुनियाँले जनाएअनुसार सलमानको सुझावअनुसार सञ्जयले रेशमा सेट्टीलाई आफ्नो म्यानेजर बनाए। उनी म्यानेजर नियुक्त भएसँगै सञ्जयलाई फिल्म अफर आउन छोड्यो। पछि उनले थाहा पाए, रेशमाले निर्मातासँग फिल्मका लागि मोटो रकम माग्ने गरिन्। जसका कारण सञ्जयले हातमा आएको फिल्म गुमाए। रेशमाले डिमान्ड गर्ने रकमबारे सञ्जयलाई जानकारी नहुने गरेको पनि उनलाई थाहा नहुने जनाइएको छ।
सोही कारण सञ्जयले रेशमालाई काम बाट हटाए। जुन निर्णय सलमानलाई मन परेन।
सलमानलाई सञ्जयले लिएको अर्को ठूलो कदम पनि चित्त बुझेको थिएन। सञ्जय दत्तको जीवनीमाथि बन्दै गरेको बायोपिकमा सलमानले रणवीरको ठाउँमा अरु कुनै अभिनेता राख्न सुझाएका थिए। तर सञ्जयले सलमानको सुझाव स्विकारेनन्। यही कारण पनि यी दुईको सम्बन्ध थप चिसो भयो।