PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

आतंकवादीको आरोप लागेका समसुल होदा सहित ४ जना जेल पुगे



राधेश्याम पटेल

आतंकवादीको आरोप लागेका समसुल होदा सहित ४ जना जेल पुगे

वीरगन्ज : पाकिस्तानी समूहसँग मिलेर भारतीय र नेपाली युवा समेटेर आतंकवादी समूह चलाएको आरोप लागेका समसुल होदा सहित ४ जना पूर्पक्षका लागि जेल पुगेका छन्। उनीहरु आतंकवादको आरोपमा नभई हत्या अभियोगमा जेल पुगेका हुन्।
 
भारत विहारको रेल्वे ट्रयाकमा बम पड्काउने योजना असफल भएपछि पोल खुल्ने डरले भारतीय युवक अरुण राम र दिपक रामको हत्या गरेको आरोपमा होदा सहित ४ जना पक्राउ परेका थिए। प्रहरीले उनीमाथी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरेको थियो। सोही अभियोगमा उनीहरुलाई बारा जिल्ला अदालतले मुद्धाको अन्तिम किनारा नलागेसम्म जेलमै राख्ने आदेश दिएको हो।
 
पुस १० गते बाराको करैया–८ सहजनाथ सामुदायिक वन क्षेत्रमा अरुण र दिपकको शब फेला परेपछि हत्याको आरोपमा गिरीबाबा भन्ने बृजकिशोर गिरी, मोजाहिर अन्सारी, आशीष सिंह र उमेश कुर्मी पक्राउ परेका थिए।
 
अनुसन्धानमा मुख्य योजनाकार होदा रहेको र उनी दुबइमा रहेको खुलेपछि प्रहरीको विशेष ब्युरोले होदालाई नेपाल फर्कन बाध्य बनाएर पक्राउ गरेको थियो।
 
पक्राउ परेकामध्ये उमेश कुर्मी १० हजार धरौटीमा रिहा भए। होदा, गिरीबाबा, सिंह र अन्सारी पूर्पक्षको लागि जेल चलान भएको जिल्ला प्रहरी कार्यालय  बाराका प्रवक्ता डिएसपी राजेन्द्रबाबू रेग्मीले जानकारी दिए ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell