PahiloPost

Jan 12, 2026 | २८ पुष २०८२

​गाई काटेर खाने पाँच जना पुर्पक्षका लागि थुनामा



पहिलोपोस्ट

​गाई काटेर खाने पाँच जना पुर्पक्षका लागि थुनामा

फलेवास : राष्ट्रिय जनावर गाई काटेर खाएको आरोपमा पाँचजना पुर्पक्षका लागि थुनामा परेका छन्। पर्वतको धाइरिङ–८ का आइते दर्जी, नरु दर्जी, छवि परियार, सन्तु दर्जी र झिल्के दर्जीलाई पर्वत जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको हो। 

जिल्ला प्रहरी कार्यालय पर्वतले गौबध मुद्दामा पाँच आरोपितलाई पक्राउ गरी १९ फागुनमा पर्वत जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। मुद्दाका आरोपितलाई थप अनुसन्धानका लागि पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधीश मोहनराज भट्टराईको एकल इजलासले मङ्गलबार पाँचै जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। 

जिल्ला प्रहरी कार्यालय पर्वतले स्थानीयवासीको सूचनाका आधारमा घटनास्थलको मुचुल्कासहित पक्राउ गरी आरोपितलाई मुलुकी ऐन चौपाया महलको १ नम्बर विपरीत कसुर गरेको भन्दै सोही महलको ११ नम्बरबमोजिम कार्वाहीको माग दाबी गरेको थियो । उक्त महलमा कसुर ठहरिएमा १२ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ। 

पर्वत जिल्ला अदालतले थप अनुसन्धानका लागि पाँचैजना आरोपितलाई पर्वत जिल्ला कारागारमा थुनामा राख्ने आदेश दिएको हो। यसअघि गौबधकै आरोपमा पक्राउ परेर पुर्पक्षका लागि थुनामा रहेका पर्वतको चित्रे–५ का रामबहादुर आइते र चित्रे–९ का मिल्के दर्जीलाई कसुर नठहरेपछि सफाइ दिइएको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell