PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

​स्थानीय तहको निर्वाचनले महिला सहभागिता थप बढाउँछ –प्रधानमन्त्री



पहिलोपोस्ट

​स्थानीय तहको निर्वाचनले महिला सहभागिता थप बढाउँछ –प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनले महिला सहभागितालाई थप बढाउने विश्वास व्यक्त गरेका छन्। अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री दाहालले निर्वाचनबाट महिला सहभागिता थप बढ्नेमा आफु विश्वस्त रहेको बताएका हुन्। 

स्थानीय तह निर्वाचनसम्वन्धी ऐनले गाउँपालिका र नगरपालिकाको प्रमुख वा उपप्रमुखमा एक महिला उम्मेदवार अनिवार्य गरेको छ। यस्तै वडा सदस्यमा महिलाको प्रतिनिधित्वलाई अनिवार्य बनाएको छ। 

शुभकामनामा प्रधानमन्त्री प्रचण्डले राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणका क्षेत्रमा महिलाहरुको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय रहँदै आएको बताएका छन्।  जनयुद्ध, र ऐतिहासिक जनआन्दोलनमा महिलाको भूमिका अग्रमोर्चामा रहेको प्रधानमन्त्रीले स्मरण गरेका छन्। 

शुभकामनामा प्रधानमन्त्रीले संविधानमा महिलाको हकलाई मौलिक हकमा व्यवस्था गरी राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी सुनिश्चित गरिएको बताएका छन्। ३३ प्रतिशत संसदमा प्रतिनिधित्व सुरक्षित गरी एसियामै राजनीतिमा महिलाको उच्च सहभागिता हुने मुलुकमा नेपाल परेको प्रधानमन्त्रीको भनाई छ। 

आउँदो स्थानीय तह निर्वाचनले स्थानीय तहमा महिला सहभागिात बढाउने प्रधानमन्त्री विश्वास छ। महिलाविरुद्ध हुने हिंसाका मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गर्न नेपाल सरकारले पाँच वर्षे ‘लैङ्गिक हिंसा अन्त्य तथा लैङ्गिक सशक्तीकरण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना’ कार्यान्वयनमा रहेको पनि शुभकामनामा प्रधानमन्त्रीले उल्लेख गरेका छन्।   

महिलाविरुद्ध हुने हिंसा अन्त्य गर्न तथा महिला सशक्तीकरणमा सरकारको अभियानमा साथ दिन पनि प्रधानमन्त्रीले आग्रह गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell