गौशाला : महोत्तरी जिल्लाको पिपरा गाविसमा आज बिहान एक किशोरीको रहस्यमय मृत्यु भएको छ। मृत्यु हुनेमा पिपरा–५ बस्ने राजेन्द्र महासेठकी छोरी १७ वर्षीया काजलकुमारी महासेठ रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक दीपक पोखरेलका अनुसार किशोरी महासेठ गएराति खाना खाएर सुत्न गएकीमा आज बिहान उनको शव झुन्डिएको अवस्थामा उनी सुत्ने कोठाभन्दा छेउको कोठामा फेला परेको छ। किशोरी महासेठको घाँटीमा सलको पासो लागेको तथा उनी आफ्नो सुत्ने कोठामा नभई छेउको कोठामा झुन्डिएको अवस्थामा फेला परेकाले प्रहरीले किशोरीको मृत्यु रहस्यमय भएको भन्दै आवश्यक अनुसन्धान सुरु गरेको छ।
घटना रहस्यमय भएको भन्दै प्रहरीले किशोरी महासेठको मृत्युको कारणबारे स्पष्ट हुन सकेको छैन भने उनको शवपरीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउने तयारी गरिरहेको प्रहरीले जनाएको छ।