बर्दिवास : महोत्तरीको बर्दिवास–२ मा निर्माण भइरहेको एकीकृत नमुना मुसहरबस्तीको सहयोगार्थ बर्दिवास जनता बहुमुखी क्याम्पस र जनता माध्यमिक विद्यालय बर्दिवासले संयुक्त रुपमा रु ६२ हजार ६ सय ५५ सहयोग रकम बुझाएका छन्।
क्याम्पस र माविका छात्रछात्राले आफ्नो खाजा खर्चबाट बचाएका रकम, शिक्षक र व्यवस्थापन समितिबाट प्राप्त सहयोगसमेत गरी क्याम्पस र माविका तर्फबाट संयुक्त रुपमा मङ्गलबार साँझ बस्ती निर्माण गरिरहेको धुर्मुस–सुन्तली फाउन्डेसनलाई रकम हस्तान्तरण गरिएको हो।
बस्ती निर्माणमा आफ्नो खाजा खर्च कटौती गरेर रकम सङ्कलन गरेका क्याम्पस र माविका छात्रछात्राले नमुना मुसहर बस्ती निर्माणमा एक साता सामूहिक श्रमदान गरिसकेका छन्। विद्यालय र क्याम्पसबाट प्राप्त श्रमदान र सहयोग रकमले आफूहरुलाई काम अघि बढाउन ऊर्जा प्राप्त भएको फाउन्डेसनका अध्यक्ष हास्य कलाकार धुर्मुस (सीताराम कट्टेल) ले बताए।
यसअघि सोमबार बर्दिवासका उद्यमी–व्यापारीले आफूहरुबाट सङ्कलित सात लाख ३८ हजार आठसय ९७ रकम फाउन्डेसनलाई हस्तान्तरण गरेका थिए।
त्यस्तै, बर्दिवास–१ का बासिन्दा एवम् नेपाली काँग्रेसका महासमिति सदस्य चिरिञ्जीवी हमालले आफ्नो ३५ औँ वैवाहिक वर्षगाँठ समारोहको खर्च कटौती गरेर रु ५१ हजार फाउन्डेसनलाई हस्तान्तरण गरेका छन्।
बर्दिवास–१ कै अर्को सामुदायिक विद्यालय देउराली माविका शिक्षक, विद्यार्थी र व्यवस्थापन समितिका सदस्यले आफूहरुबाट सङ्कलित ५१ हजार रकम फाउन्डेसनलाई हस्तान्तरण गरिसकेका छन्। देउराली माविका शिक्षक र विद्यार्थीसमेत ५० जनाले त एकदिन बस्तीमा सामूहिक श्रमदानसमेत गरेका फाउन्डेसनका अध्यक्ष धुर्मुस (सीताराम कट्टेल) ले जानकारी दिए।
गत पुस २५ गते शिलान्यास गरिएको मुसहर बस्ती निर्माणमा अझै रु दुई करोड अपुग रहेको फाउन्डेसनले जनाएको छ। जम्मा चार करोड ७८ लाखको अनुमानित लागतमा निर्माण थालिएको नमुना बस्तीको ७५ प्रतिशत काम सकिएको परियोजना प्रबन्धक अर्जुन न्यौपानेले बताए।
आउने नयाँ वर्ष (२०७४ वैशाख १) का दिन ५० परिवार मुसहरलाई घर हस्तान्तरण गरिने लक्ष्यसाथ काम भइरहेको परियोजनामा खुला हृदयले सकेको सहयोग गर्न फाउन्डेसनका अध्यक्ष धुर्मुसले सहयोगी मनसित अपिल गरेका छन्। रासस