PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

सप्तरी घटनाका कारण 'राष्ट्रिय एकता यात्रा' स्थगित गर्ने राप्रपाको निर्णय



पहिलोपोस्ट

सप्तरी घटनाका कारण 'राष्ट्रिय एकता यात्रा' स्थगित गर्ने राप्रपाको निर्णय

काठमाडौं : सप्तरी घटनायता मधेस आन्दोलित बनेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीको 'राष्ट्रिय एकता यात्रा' स्थगित भएको छ।
 
चुनावको लागि अनुकूल वातावरण सिर्जना गर्न भन्दै राप्रपाले चैत ७ गतेदेखि एकता यात्राको तयारी गरेको थियो।
 
सप्तरीमा सोमबार भएको घटना र त्यसबाट उत्पन्न परिस्थितिलाई दृष्टिगत गर्दै यात्रा स्थगित गरेको पार्टीले जनाएको छ। 'हाल मुलुकमा राष्ट्रिय एकता, सामाजिक सद्भाव र चुनावको निमित्त अनुकूल वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता रहेकोले पार्टीले आयोजना गर्न लागेको राष्ट्रिय एकता यात्रा हाललाई स्थगित गर्ने निर्णय गरिएको छ,' पार्टी प्रवक्ता भुवन पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
 
राप्रपाले चैत ७ देखि १२ गतेसम्म राष्ट्रिय एकता यात्रा सञ्चालन गर्ने भएको थियो। केही दिनअघिको पदाधिकारी बैठकले राष्ट्रियता, सनातन धर्म र विकासका साथै स्थानीय तहको निर्वाचन सन्दर्भमा पार्टीको सन्देश जनता समक्ष पुर्‍याउनमा यात्रा केन्द्रित हुने जनाएको थियो।
 
अध्यक्ष कमल थापाले गोरखाबाट, पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले कञ्चनपुरबाट, पूर्वराष्ट्रिय अध्यक्ष पशुपति शमशेर जबराले झापाबाट र डा.प्रकाशचन्द्र लोहनीले काठमाडौंबाट यात्राको प्रारम्भ गर्ने कार्यक्रम तालिका समेत बनिसकेको थियो।
 
गत सोमबार नेकपा एमालेको मेची-महाकाली अभियान अन्तर्गत सप्तरीको राजविराजमा भएको सभामा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा चार जनाको ज्यान गएको थियो। सोही घटनाको विरोधमा मोर्चाले सप्तरी लगायत तराईका जिल्लामा प्रदर्शन जारी राखेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell