
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय महिला दिवस २०१७ का अवसरमा शुभकामना सन्देश व्यक्त गरेकी छिन्।
राष्ट्रपतिले आज दिएको सन्देशमा विद्यमान सामाजिक परम्परा, धार्मिक अन्धविश्वास एवम् पुरुषप्रधान मानसिकताबाट ग्रसित मूल्य मान्यताको प्रभावले महिलाहरु शैक्षिक, सामाजिक एवम् आर्थिक रुपले पछि परेकाले पुरुषको तुलनामा महिलाहरुको स्थान कमजोर रहेको बताएकी छिन्।
नेपालको संविधानमा महिला हकहितको सुनिश्चितता गरिएको बताउँदै उनले आवधिक योजना तथा कार्यक्रमहरुमा समेत महिला शसक्तिकरण एवम् लैंगिक समानताका लागि विभिन्न कार्यक्रमहरुको थालनीबाट समग्र महिलाहरुको अवस्थामा केही सुधार भएको पनि अवगत गराएकी छिन्।
सन्देशमा भनिएको छ- '१०७ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरू लगायत संसारभरका सबै दिदीबहिनीहरूमा लैंगिक समानता, महिला सशक्तीकरण र महिला मानव अधिकारको सुनिश्चितताको कामना गर्दै सुख, शान्ति, समृद्धिका साथै उत्तरोतर प्रगतिको कामना गर्दछु।'