काठमाडौं : प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले हिंसाको राजनीति छाड्दै मर्यादित र संयम हुन दलहरुलाई आग्रह गरेका छन्।
निर्वाचन आयोगको कार्यालयमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख आयुक्त यादवले आफूहरु छोटो समयमै निर्वाचन गराउन लागिपरेको अवस्थामा दलहरु नै मुठभेडमा उत्रिनु सुखद संकेत नभएको बताए। 'यस्तो अवस्थामा दल, सञ्चार क्षेत्र लगायत सबै नागरिकको उत्तिकै सहयोग र साथ चाहिन्छ,' उनले भने, 'निर्वाचन नजिकिँदै गर्दा दलहरु नै हिंसामा आउनु राम्रो होइन यस्तो कार्यलाई तत्काल सच्याएर सहमतिमा आउनुपर्छ।'
सप्तरी, रौतहट लगायतका जिल्लामा निर्वाचन आयोगका कार्यालय तोडफोड गरिएको, त्यसकै कारण निर्वाचन सामग्रीमा क्षति पुगेको तथा कर्मचारी सुरक्षामा पनि चुनौती थपिएको उनले बताए। यस्ता कार्य रोक्न आग्रह गर्दै आयुक्त यादवले आवश्यक सुरक्षा प्रबन्धका लागि गृह मन्त्रालयलाई अनुरोध पनि गरे।
आजै मात्र प्रदर्शनमा उत्रिएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले यादवको सप्तरी राजविराज- ९ स्थित घरमा तोडफोड गरेका थिए। सोही प्रसंग झिक्दै उनले घरमा रहेका सबै सकुशल रहेको जानकारी आफूले पाएको बताए। तोडफोड र क्षतिको कुरा एकातिर रहेको बताउँदै उनले आफ्नो परिवार मात्र नभई सबैलाई त्रासमुक्त हुने वातावरण निर्माणका लागि राजनीतिक दलहरुलाई आग्रह गरे।