
काठमाडौं : नेकपा एमालेले कुनै पनि बहानामा निर्वाचन भाँड्न नहुने धारणा राखेको छ। आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निवासमा बसेको प्रमुख तीन दलको बैठकमा एमाले नेताहरुले सप्तरी घटनाको न्यायिक छानविन गर्न पनि सरकारसमक्ष माग गरेका छन्।
बैठकपछि उपाध्यक्ष वामदेव गौतमले एमालेको अभियानलाई बिथोल्न खोज्दा पनि सरकारले गम्भीर रुपमा नलिएको बताए। बैठकमा कांग्रेस मौन देखिएको भन्दै उनले महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतोको लागि चुनाव हो र? भन्दै प्रश्न गरे। 'मधेसका जनता चुनावमा जान चाहिरहेका छन्, हामी तराईमा चुनाव जित्छौं,' उनले भने।
मधेसमा एमाले कार्यालयहरुमा तोडफोड गरिएको र कार्यकर्तामाथि धम्की दिने क्रम जारी रहेको भन्दै गौतमले सरकारले ज्यादती नियन्त्रण नगरे आफूहरु बाध्य भएर प्रतिकार उत्रने चेतावनी बैठकमा दिइएको जानकारी गराए। बैठकमा उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि मौन बसेको र कांग्रेसबाट कुनै धारणा नआएको बताए।
प्रधानमन्त्री प्रचण्डले एमाले नेताहरुको कुरा सुनेपछि सबै पक्ष संयम भएर प्रस्तुत हुनुपर्नु भन्दै मोर्चाले दिएको सातदिने अल्टिमेटम बारे जानकारी गराएका थिए। साथै उनले परिस्थिति केही बिग्रिएको भन्दै मेची महाकाली राष्ट्रिय अभियान स्थगित गरेर समस्या समाधानमा लाग्न एमाले नेताहरुलाई आग्रह पनि गरेका थिए।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल लगायत थिए। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि बैठकमा सहभागी थिए।