
इटहरी : विभागीय टोली सशस्त्र प्रहरी क्लबको एपीएफले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि बुधबार जितेको छ।
इटहरीको डिभीएम ग्लोबल स्कुलको खेलमैदानमा बुधबार सम्पन्न फाइनलमा सुदूरपश्चिमाञ्चललार्इ ८ विकेटले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर मात्र ५७ रन बनाउन सक्यो। सम्झना खड्काले नटआउट १६ रन बनाउनु बाहेक सुदूरपश्चिमका अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्। उसलाई कम स्कोरमा रोक्न एपीएफकी रितु कनौजियाले ३ विकेट लिइन्।
५८ रनको सामान्य लक्ष्य पछ्याएको विभागीय टोली एफीएफले १४.१ ओभरमा २ विकेट मात्र गुमाएर जित हासिल गर्यो। एपीएफकी सरिता मगरले नटआउट २२ रन बनाइन् भने सीताराना मगरले १६ रन जँडिन्। सुदूरपश्चिमकी रेखा रावल र डली भट्टले १-१ विकेट लिइन्।
उपाधिसँगै एपीएफले नगद १ लाख हात पार्दा उपविजेता बनेको सुदूरपश्चिमले एक लाख तथा ५० हजारमा चित्त बुझायो।
एपीएफकी सीता राना मगर प्लेयर अफ दी सिरिज घोषित भइन्। उनले १० हजार नगद हात पारिन्।
त्यस्तै बेष्ट ब्याट्सवूमन सुदूरपश्चिमकी रेखा रावल तथा बेष्ट बलर एपीएफकी एपीएफकी रितु कनौजिया चुनिए। दुवै खेलाडीले नगद ५ हजार हात पारे।
विजेता टीम तथा खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्ट लगायतले पुरस्कृत गरे।
राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रतियोगितामा पाँच विकास क्षेत्र र एपीएफ गरी कूल ६ टीमको सहभागिता रहेको थियो।