काठमाडौं : सरकारले चार जनाको ज्यान जानेगरी राजविराजमा भएको घटनाको जाँचबुझ गर्न समिति गठन गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका चार जनाको परिवारलाई १० लाखको दरले राहत रकम दिने निर्णय गर्दै घटनाको छानविनका लागि १५ दिनको समय दिएर समिति गठन गर्ने निर्णय गरेको हो।
जाँचबुझ आयोग एेन अनुसार गठन गरिने समितिको जिम्मेवारी गृह मन्त्रालयले पाएको छ।
बैठकले घटनामा घाइते भएका सबैको निःशुल्क उपचार गर्ने निर्णय समेत गरेको छ। स्थानीय विकास मन्त्री हितराज पाण्डेका अनुसार मृतकका परिवारलाई सरकारले दिने राहत र घाइतेको उपचार खर्च तत्काल निकासाका लागि अर्थ मन्त्रालयलाई निर्देशन समेत दिइसकेको जानकारी दिए।