चितवनः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुने वातावरण अझै तयार नभएको बताएका छन्।
जिल्ला विकास समिति महासङ्घ नेपालले आयोजना गरेको पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले मधेसको समस्या समाधान नगरी निर्वाचनको वातावरण तयार नहुने बताए।
उनले आगामी माघसम्ममा तीनवटै तहको निर्वाचन सम्पन्न नभए संविधान खारेजी हुने बताउँदै सबै दल निर्वाचन गराउने वातावरण तयार गर्न लाग्नुपर्ने बताए।
पौडेलले भने, 'तीनतहको निर्वाचन तोकिएको समयमा नभए देश सङ्कटमा फस्छ, समस्याको निकास निकाल्न नसके दलको योग्यतामाथि नै प्रश्न उब्जिनेछ।' उनले भने 'कतै यो पुस्ता नै राजनीतिमा असफल त हुँदैन भन्ने डर बढेको छ।'
निर्वाचनबाट मधेसी मोर्चालाई बाहिर राख्न नहुने बताउँदै उनले संविधान जारी गर्दा मोर्चा बाहिर भएकाले अहिले समस्या देखिएको बताए।
हिमाल, पहाड र तराईको एकतामा नै राष्ट्रियता भएको बताउँदै वरिष्ठ नेता पौडेलले तीन ठूला राजनीतिक दल र मधेसी मोर्चाका बीचमा सत्ताका लागि नभई व्यवस्थाका लागि सहमति आवश्यक रहेको बताए।
सप्तरी घटना दुःखद भएको बताउँदै पौडेलले घटनाले मधेसी मोर्चाको माग सम्बोधन नभएको र कुनै पनि दल कुनै पनि कार्यक्रम लिएर तराई जान नसक्ने वातावरण सिर्जना हुनुले निर्वाचनलाई बाधा पुगेको बताए। रासस