पर्सा : वीरगन्जको आदर्शनगरमा आज बिहान एक गोदाममा आगलागी हुँदा रु १० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ।
उप–महानगरपालिका–१३ स्थित पुरानो पानीट्याङ्की नजिकै रहेको रेवती शर्माको घरमा सञ्चालित विनाजी महिला ग्रील उद्योगको गोदाममा आगलागी हुँदा उक्त मूल्य बराबरको धनमाल जलेर नष्ट भएको हो।
वीरगन्ज उप–महानगरपालिका–८ निवासी विकास गुप्ताले भाडाको घरमा सञ्चालन गरेको उद्योगको गोदाममा बिहान करिब ३ बजे विद्युत्को तारमा सर्ट भर्ई आगलागी भएको वडा प्रहरी कार्यालय विर्ताका इन्चार्ज प्रहरी निरीक्षक अनिश कर्णले जानकारी दिए।
उनले आगलागीमा परी गोदामभित्र रहेका पाँच टन चनाको दाल, एक लाख ५० हजार मूल्य बराबरको नमकिन (भुजिया), चारलाख मूल्य बराबरको रेपर, एकथान जेनरेटरलगायतका समान जलेर नष्ट भएको बताए।
गोदाममा लागेको आगोलाई वीरगन्ज उप–महानगरपालिकाको बारुणयन्त्र र स्थानीय बासिन्दाको सहयोगमा एक घन्टापछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।