काठमाडौँ : खानेपानी संस्थानले २० लिटरको खानेपानीको जार दुई हप्ताभित्र बजारमा ल्याउने भएको छ।
काभ्रेपलाञ्चोकको पनौतीमा उत्पादन गरी प्रशोधन गरिएको पानीको जारको मूल्य ५२ कायम गरिएको संस्थानका कामु प्रबन्धक भूपेन्द्र प्रसादले जानकारी दिए। संस्थानले पानी उत्पादन गरी वितरण गर्न सम्पूर्ण तयारी पूरा गरेको छ।
सबै सरकारी कार्यालयमा पानी वितरण गर्न मन्त्रालयले सहयोग गर्ने खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले बताए। संस्थानले उत्पादन गरेको पानी गुणस्तरीय रहेको जनाइएको छ। सरकारी संस्थानले पहिलो पटक मिनरल वाटर बजारमा ल्याउन लागेको हो।
संस्थानले २०६४ सालसम्म उपत्यकालगायत देशका प्रमुख सहरमा खानेपानीको व्यवस्थापन गर्दै आएको थियो।
काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले २०६४ फागुन १ गतेदेखि उपत्यकाको खानेपानीको व्यवस्थापन गर्ने जिम्मेवारी काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (काउखाली) लाई दिएको छ। संस्थानले भने हाल उपत्यका बाहिरका सहरमा मात्र पानीको व्यवस्थापन गर्दै आएको छ।