PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

भूकम्पको २३ महिनापछि पर्वतमा पीडितको लगत सङ्कलन, ८ सय घर गणना भएनन्



रासस

फलेवास (पर्वत) : विनाशकारी भूकम्प गएको २३ महिनापछि पर्वतमा भूकम्पपीडितको लगत सङ्कलन कार्य सम्पन्न भएको छ। जिल्लामा झन्डै ११ हजार भूकम्पपीडितको लगत सङ्कलन गरिएको छ।
 
गत पुस २६ गतेदेखि सुरु भएको लगत सङ्कलन मङ्गलबार सम्पन्न भएको हो। अभियान अन्तर्गत ११ हजार घरको लगत सङ्कलन गरिएको छ। बाँकी छुटफुट भएको र उनीहरुलाई पुनः अर्को चरणमा लगत सङ्कलन गरिने जिल्ला लगत सङ्कलन कार्यालय पर्वतले जनाएको छ।
 
तथ्याङ्क विभाग लगत सङ्कलन कार्यालय, पर्वतले दिएको जानकारीअनुसार ११ हजार घरको लगत सङ्कलन भइसकेको र सबै इन्जिनियर र सामाजिक परिचालक फर्किसकेको जनाएको छ।
 
पर्वतका कुल ११ हजार ८०९ घरमध्ये अब ८०० घर गणना भएका छैनन्। कतिपयको पुरानो लगतमा नसमेटिएको वा कतिपय घरवार अन्यत्रै बसाइँ सरेको र नभेटिएका कारण सङ्कलनमा नपरेका हुन्। उनीहरुलाई पुनः अर्को चरणमा समावेश गरिने तथ्याङ्क सङ्कलन कार्यालयका प्रमुख शिव श्रेष्ठले जानकारी दिए। जिल्लाका एक नगरपालिकासहित ४७ गाविसका सबै पीडितको घरधुरीमा प्राविधिक पुगेका थिए ।
 
तत्कालीन अवस्थामा प्रहरी, प्रशासन र स्थानीय निकायलगायतले गरेको सर्वेक्षणको तथ्याङ्क फरक फरक भएपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ‘ख’ वर्गमा समावेश गरेको पर्वतमा भूकम्प प्रभावित आवास पुनःनिर्माण सङ्कलन कार्यक्रमअन्तर्गत जिल्ला लगत सङ्कलन कार्यालय खोलेर काम गरिरहेको छ ।
 
पर्वतका ४७ गाविस र एक नगरपालिकामा गरी ११ हजार ८०९ घर परिवार भूकम्पबाट पीडित बनेका थिए। सही तथ्याङ्क नहुँदा वास्तविक पीडितको पहिचान हुन समस्या भएको र विभिन्न दातृ निकायले समेत जथाभावी तथ्याङ्क आएको भन्दै गुनासो गरिरहेका थिए।
 
जिल्ला प्रशासन कार्यालय पर्वतका अनुसार अहिलेसम्म पूर्ण रुपमा भवन क्षतिग्रस्त भएका दुई हजार ३४४ र आंशिक क्षति भएका छ हजार ७७७ जनाले राहत बुझेका छन्। चार महिना पहिले थप विवरण सङ्कलन भएकाले सङ्ख्या ११ हजार ८०९ पुगेको थियो।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell