
- डा. विष्णु पहारी

मिर्गौला रोगको शीघ्र पहिचान तथा र त्यसको समयमै निदान गर्न सक्नु नै मिर्गौला स्वस्थ्य राख्ने मुख्य उपाय हो। मिर्गौला स्वस्थ्य राख्न हरेक दिन कम्तीमा तीन लिटर पानी पिउनु आवश्यक हुन्छ। मधुमेह तथा उच्च रक्तचापलाई सन्तुलनमा राख्न सकेमा मिर्गौला स्वस्थ रहन्छ।
धुमपानको आदत भएका ५० वर्षभन्दा माथिका वयस्कहरु तथा मिर्गौलामा समस्या भएका व्यक्तिहरूलाई यस रोगको खतरा बढी हुने भएकाले हरेक वर्ष अनिवार्य रुपमा मिर्गौला परीक्षण गराइरहनु पर्दछ।
मिर्गौला रोग लागिसकेपछि यसको उपचार अत्यन्त महंगो हुने भएकाले समयमै मिर्गौला परीक्षण गरेर यसको निदान तथा उपचार गर्नु वुद्धिमानी हुन्छ।
विलासितापूर्ण, सुविधाभोगी जीवनशैलीले मान्छेमा मोटोपना बढ्नुका साथै मिर्गौलाको समस्या देखा पर्दछ। यसर्थ सन्तुलित खाना, सरल जीवनशैली र पर्याप्त मात्रामा व्यायाम गरेमा यसको समस्याबाट केही हदसम्म भए पनि बच्न सकिन्छ। बिहान वा बेलुका कम्तिमा ३० देखि ४५ मिनेट हिँडडुल गर्दा स्वास्थ्यलाई फाइदा हुन्छ।
मिर्गोला रोगको निदानमा पछिल्लो समय सञ्चारमाध्यम तथा र विभिन्न सचेतनामूलक कार्यक्रमहरुले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्। बढ्दो जनचेतनास्तरले गर्दा पछिल्लो समयमा उपचारको दायरामा आउनेहरुको संख्या पनि उल्लेख्य रुपमा बढेको छ।
पछिल्ला दिनहरुमा मिर्गोलाको उपचार गर्न अस्पतालमा आउनेहरुमा वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकबाट फर्किएका नेपालीहरुको संख्या पनि ठूलो छ।
खाडी मुलुकमा पिउने पानीको अभाव हुने र कडा परिश्रम गर्नुपर्ने बाध्यता भएकाले धेरै नेपालीहरुको मिर्गौला फेल हुने गरेको छ। त्यसमाथि खाडी मुलुकमा हरियो सागसब्जीभन्दा माछामासु तुलनात्मक रुपमा सस्तो हुनेभएकाले पनि नेपालीहरुले खानामा अत्यधिक माछामासु प्रयोग गर्ने गरेको पाइएको छ। यसले गर्दा पनि मिर्गौलामा समस्या देखिने गरेको छ।
मिर्गौलाको उपचार सम्भव नभएको अवस्थामा यसलाई प्रत्यारोपण गर्नुपर्ने हुन्छ। नेपालमा मिर्गौला प्रत्यारोपणका लागि सामान्यतया साढे तीन लाखदेखि पाँच लाख रुपैयाँसम्म खर्च हुन्छ। प्रत्यारोपणका लागि मिर्गौला दिने व्यक्ति पनि आफ्नो नजिककै नातेदार हुनुपर्छ, जुन सहज काम होइन। प्रत्यारोपण गरिसकेपछि खाने औषधि र प्रत्यारोपणअघिको डायलायसिसको खर्चसमेत सामान्य नेपालीले धान्न सक्ने अवस्था छैन।
संसारभर १० प्रतिशत मानिस मिर्गौलासम्बन्धी समस्याबाट पीडित छन्। यस तथ्याङ्कका आधारमा नेपालमा पनि कुल जनसंख्याको १० देखि १३ प्रतिशत (करिब २७ लाख मानिस) मा मिर्गौलासम्बन्धी समस्या रहेको अनुमान गर्न सकिन्छ। जसमध्ये १० प्रतिशत अर्थात् दुई लाख ७० हजार जनाको मिर्गौला बिग्रने गरेको छ भने प्रत्येक वर्ष दुई हजार सात सयको मिर्गौला पूर्ण रूपमा फेल हुने गरेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।
डा. पहारी (कन्सल्ट्यान्ट, नेफ्रोलोजी) ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा कार्यरत छन्