PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

​रीमा विश्वकर्माको पुस्तक मोह: 'पाउलो कोएल्हो र सुबिन भट्टराई मनपर्छ'



पहिलोपोस्ट

​रीमा विश्वकर्माको पुस्तक मोह: 'पाउलो कोएल्हो र सुबिन भट्टराई मनपर्छ'

काठमाडौं: नायिका रीमा विश्वकर्मा अध्ययनशील नायिकाहरु मध्ये एक हुन्। आफूले पढ्दै गरेको, पढेको वा मनपर्ने किताबहरुको फोटो र अंश आफ्नो फेसबुक तथा इन्स्टाग्राममा पोस्ट गरिरहेकी हुन्छिन्। आफ्नो पुस्तक प्रेमबारे पहिलोपोस्टसँगको कुराकानीमा उनले भनिन्,'म स्कुल पढ्दादेखि नै कोर्सबाहिरका किताबहरु पढ्न एकदम धेरै रुचाउँछु।'



आख्यानमा विशेष रुचि राख्ने उनी अङग्रेजी तथा नेपाली लेखकहरुका पुस्तक अध्ययन गर्छिन्। अङ्ग्रेजीमा पाउलो कोएल्हो र नेपालीमा सुबिन भट्टराई उनका प्रिय लेखक हुन्। भन्छिन्,'मलाई प्रेम कथा निकै मनपर्छ। त्यसैले पनि यी लेखकका किताबहरु धेरै पढेको छु।'

लेखनशैली र भाषाको आधारमा भने उनलाई कृष्ण धाराबासी उत्कृष्ट लाग्छन्। पाउलो कोएल्होको 'जाहिर' उनको सबैभन्दा मन परेको पुस्तक हो। 'उनको सबै पुस्तकले मलाई छोएको छ। तर 'एडल्टरी' अरु पुस्तकको तुलनामा अलि चित्त बुझेन।'



काठमाडौं हिमालय विद्या मन्दिर र सिद्धार्थ बनस्थलीमा स्कुले जीवन बिताएकी उनले होस्टल बस्दाको खाली समयलाई पुस्तकसँग बिताएको बताउँछिन्।

'उपन्यासको रस यसरी बस्यो कि स्कुल सक्किएपछि पनि पढ्ने लत छुटेन। फरक यति भयो कि स्कुलमा हुँदा पुस्तक किन्न पर्दैनथ्यो होस्टेल छाडेपछि किनेर पढ्न थालें।'

उनले पहिलो पटक किनेको पुस्तक यान्टोनी डे सेन्टको 'द लिटल प्रिन्स' हो। त्यसपछि पाउलो कोएल्होको प्राय: किताब किनेको दाबी गर्छिन्।

आफूले प्राय: अरुको पुस्तक पढेर फिर्ता गरे पनि आफ्ना धेरै किताब फिर्ता नआएको सम्झँदा उनी दु:ख व्यक्त गर्छिन्। भनिन्,'मलाई सबैभन्दा लोभ लाग्ने उपहार किताब हो। त्यसैले सबैले पुस्तक उपहार दिउन् तर कसैले मेरो पुस्तक नलगून् जस्तो लाग्छ।'



आफ्नो मिडिया कर्म र कलाकारितामा व्यस्त रहेने उनी फुर्सद मिल्नासाथ किताब लिएर बस्ने गरेकी छिन्। उनले हालसालै बुद्धिसागरको उपन्यास 'फिरफिरे' पढेर सक्काइन्। 'त्यस यता सुटिङ र अन्य कार्यक्रममा अलि व्यस्त छु। त्यसैले नयाँ कुनै पढ्न पाएको छैन। तर 'द स्पाई' किनेर राखेको छु। फुर्सदामा सुरु गर्छु।'

हाल उनी नेपाल आइडलको प्रस्तोताको रुपमा अनुबन्धित छिन्। साथै मङ्गलबारबाट उनको नयाँ फिल्मको छायाङ्कन सुरु भएको छ। फिल्म युनिटले तत्काल फिल्‍मबारे कुनै जानकारी सार्वजनिक गर्न भने नचाहेको उनले बताइन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell