कञ्चनपुर : कञ्चनपुरको सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले चलाएको गोली लागी एक नेपालीको मृत्यु भएको छ।
मृत्यु हुनेमा कञ्चनपुरका स्थानीय युवा गोविन्द गौतम रहेका छन्। गोली लागी घाइते भएका गौतमको उपचारको क्रममा मृत्यु भएको हो।
केही दिनअघि नेपाली भूमि आनन्द बजार क्षेत्रमा नेपाली पक्षले कल्भर्ट बनाउन खोज्दा भारतीय पक्षले रोकेको थियो। तर पछि नेपाली र भारतीय उच्च अधिकारी बसेर गरिएको वार्तापछि कच्ची कल्भर्ट निर्माण गर्ने सहमति भए पनि भारतीय पक्षबाट दबाब दिँदै आएको स्थानीय बताउँछन्। सोही विवादलाई लिएर आज बिहानैदेखि आनन्दबजार क्षेत्र तनावग्रस्त बनेको थियो। भारतीय हस्तक्षेपविरुद्ध उत्रिएका नेपालीमाथि एसएसबीले गोली चलाउँदा गौतमको मृत्यु भएको हो।
बुधबार साँझ हतियार सहित आएका एसएसबीका जवानले इन्दिरा गुरुङको घरसम्म आएर घर छोडेर भाग्न भन्दै धम्क्याएका थिए। उनीहरुले तुच्छ शब्द प्रयोग गर्दै भारतमा भेटे कुट्ने धम्की समेत दिएको कल्भर्ट निर्माण उपभोक्ता समिति सचिव चन्द्रमणि गैरेले बताए।
भारतीय एसएसबीले नेपाली सर्वसाधारण माथी लाठीचार्ज समेत गरेको प्रत्यक्षदर्शी केशव साहीको भनाइ छ।