
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चुनाव गराउन नसक्ने हो भने राजीनामाका लागि बैशाख नकुर्न सुझाव दिएका छन्।
सरकार निर्वाचन गराउने पक्षमा नभएको आरोप ओलीको थियो। राजधानीमा आयोजित कार्यकर्ता भेलामा ओलीले भने – 'प्रधानमन्त्री ज्यू, चुनाव गराउन नसक्ने हो भने बैशाख नपर्खनुस्, राजीनामा गरिहाल्नुस्।'
ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पनि नाम नलिई व्यङ्ग्य कसे। वर्तमान सरकार गठनका बेला नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच आलोपालो सरकार चलाउने समझदारी भएको थियो
'हुन खोजेको जी चुनाव गराउन सक्नुहुन्न भने तपाईको पनि काम छैन,' ओलीले व्यङ्ग्य कसे।
सरकार यताउता गरेर समय टार्ने र पछि निर्वाचन आयोगबाट चुनाव हुन नसक्ने भन्न लगाएर तमासा देखाउने तयारीमा रहेको उनको आरोप थियो।
चुनाव भन्दा पनि कांग्रेसको ध्यान फास्ट ट्रयाक, एयरपोर्ट लगायतमा रहेको भन्दै ओलीले कांग्रेसलाई आरोप लगाए। 'दुलोबाट मुसो निस्केला भनेर (बन्दुकको तेर्स्याएको शैलीमा प्रस्तुत हुदैँ) झ्याम्म ताकेर बस्नु भएको छ', उनले भने, 'सरुवा बढुवामा ध्यान छ। त्यो पनि उधारो कारोबार होइन', उनले भने।
सत्तापक्षको आक्रमण
एमाले अध्यक्ष ओलीले सप्तरीमा एमालेमाथि सत्तापक्षबाट आक्रमण भएको दावी गरे। एमाले नेताको हत्या योजनासहित आक्रमणको प्रयास भएको दावी गर्दै उनले सत्ताधारीहरु एमालेविरुद्ध हतियार लिएर आएको बताए। आक्रमणमा प्रहरी समेत घाइते भएको प्रसंग निकाल्दै उनले भने 'सत्तापक्षकाले आक्रमण गरेर प्रहरी घाइते भएको कतै सुन्नु भएको छ?'मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिन्छु भनेर नाटक मात्र गरेको उनको भनाई थियो। 'समर्थन फिर्ता गर्छु भनेर नाटक गर्छन्,कताबाट फोन आएपछि सात दिनको अल्टिमेटम भन्छन्।'
ओलीले मधेसी मोर्चालाई सरकारलाई दिएको समर्थन फिर्ता लिएर देखाउन चुनौति दिए। 'समर्थन फिर्ता लिने हुति छ?' ओलीले भने, 'यो तमासा हो सत्तापक्षको।'
मधेसी मोर्चाका नेताहरुले संसदमा प्रतिपक्षको कुर्सीमा बस्ने अनि भोटहाल्न सत्तापक्षतिर दौडने नाटक देखाएको उनको भनाई थियो।