
काठमाडौं : कञ्चनपुरको सीमा क्षेत्र आनन्द बजारमा भएको भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गोली नचलाएको भारतीय दूतावासले जनाएको छ।
आज एक विज्ञप्ति जारी गर्दै दूतावासले त्यहाँ एसएसबीबाट गोलाबारीको घटना नभएको दाबी गरेको हो। 'आनन्दबजारमा भएको गडबडीबारे स्थानीय मिडियाले सोधेको प्रश्नमा हामी भन्छौं कि त्यहाँ एसएसबीले गोली चलाएको थिएन।'
नेपाल–भारत २०० नम्बर सीमास्तम्भमा पर्ने स्थानमा नेपालीले कल्भर्ट निर्माण गरी पानीको निकासका लागि ह्युमपाइप राख्ने विषयमा नेपाली र भारतीय नागरिकबीच विवाद भएपछि बिहीबार ढुङ्गा हानाहान भएको थियो। सो क्रममा एसएसबीले चलाउँदा पुनर्वास नगरपालिका–८ का २५ वर्षीय गोविन्द गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले बताएका छन्।
नेपालीको मृत्यु भएपछि अहिले यहाँको अवस्था तनावग्रस्त बनेको छ। घटनाको विरोधमा स्थानीयहरु प्रदर्शनमा उत्रिएका छन्। भारतबाट आएको एसएसबी टोलीले नेपालीको मृत्युपछि पनि हवाइफायर गरिरहेका छन् भने नेपाली प्रहरीले पनि अवस्था नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको स्थानीय हरिशचन्द्र बागले जानकारी दिए।
सम्बन्धित समाचार