
च्याम्पियन्स लिगपछि युरोपको दोस्रो ठूलो क्लब फुटबल प्रतियोगिता हो युरोपा लिग। र यो सिजन युरोपा लिग खेलिरहेका क्लबमध्ये म्यानचेष्टर युनाइटेड र रोमा सबैभन्दा ठूला क्लब हुन् र उपाधिको दाबेदार पनि।
तर अन्तिम १६ को पहिलो लेगको खेलमा भने दुवै क्लबले राम्रो प्रदर्शन गर्न सकेनन्। रसिया भ्रमणमा युनाइटेड रोस्तोभसँग बराबरीमा रोकियो भने रोमा फ्रान्सेली क्लब लियोनसँग पराजित भयो।
अर्मेनियन खेलाडी हेनरिख मिखातर्यानले गोल गर्दै युनाइटेडलाई पहिले अग्रता दिलाएका थिए। तर अलेक्जान्डर बुखारेभले दोस्रो हाफमा घरेलु क्लबका लागि बराबरी गोल फर्काए। बराबरीमा रोकिए पनि युनाइटेडलाई अवे गोलको फाइदा छ।
यता लियोनले घरेलु मैदानमा रोमालाई ४-२ ले पराजित गरेको छ। खेलमा लियोनले पहिले अग्रता दिएपनि लगातार दुई गोल गर्दै रोमाले अग्रता बनाएको थियो तर त्यसपछि लगातार ३ गोल गर्दै लियोनले जित हात पारेको हो।
यस्तै अन्तिम १६ कै 'अल बेल्जियम' खेलमा जेन्कले जेन्टलाई ५-२ ले हराउँदा 'अल जर्मन' खेलमा साल्का र बोरुसिया मोन्चेनग्लाडबाचले १-१ गोलको बराबरी खेले।
अर्को बेल्जियन क्लब एन्डरलेक्सले एपोल निकोसियालाई १-० ले पराजित गरेको छ।
डच क्लब अयाक्स डेनिस क्लब एफसी कोवनहेगनसँग २-१ ले पराजित भएको छ भने स्पानिस क्लब सेल्टाभिगोले रसियन क्लब एफसी क्रासनोडरलाई २-१ ले नै पराजित गरेको छ।
ग्रीसको ओलम्पियाकोस र टर्कीको बेसिकटासले १-१ को बराबरी खेलेका छन्।
अन्तिम १६ अन्तर्गत दोस्रो लेगका खेलहरु आउँदो बिहीबार हुनेछ।