राजविराज : बन्दको अवज्ञा गरेको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले गएराति सप्तरीको राजविराजस्थित औद्योगिक क्षेत्रअगाडि एउटा बसमा आगजनी गरेका छन्।
रुपनीबाट राजविराजतर्फ आइरहेको ना ५ ख ६७१३ नंको स्वस्तिका बसमा मोर्चाको कार्यकर्ताले आगो लगाउँदा बस पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। नष्ट भएको गाडी राजविराजदेखि वीरगन्ज चल्ने गाडी हो। यात्रुलाई भने केही नभएको बुझिएको छ।
नेकपा एमालेको मेची–महाकाली अभियानअन्तर्गत सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा सोमबार एमालेले गरेको कार्यक्रम बिथोल्न पुगेका मोर्चाको कार्यकर्ता र प्रहरीबीच झडपमा चार जनाको मृत्यु भएपछि मोर्चा सप्तरीले अनिश्चितकालिन बन्द आह्वान गरेको थियो। बन्दको अवज्ञा गरेकाले बसमा आगजनी गरेको बताइएको छ।
यसैबीच, मोर्चाले अह्वान गरेको बन्द आज पाँचौँ दिन पनि सप्तरीमा प्रभाव परेको छ। बन्दले राजविराजबाट चल्ने लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् भने बजार, पसल, शैक्षिक संस्था, कलकारखानालगायत सम्पूर्ण बन्द रहेको पाइएको छ।