
काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग् अन्तर्गत नेपाल र केन्याबीच भोली शनिबार हुने खेलका लागि सम्पूर्ण टिकट बिक्रि भएको टिकट विक्रि तथा व्वयस्थापन गरेको इसेवाले जनाएको छ।
पाँचौं चरणको खेल अन्तर्गत शनिबार नेपाल र केन्याबीच कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिलो खेल हुँदैछ।
इसेवा फोन पे प्रालिका अनुसार पहिलो खेलका लागि ११ हजार दुई सय टिकट विक्री भएका छन्।
इसेवाका प्रमुख कार्यकारी अधिकृत अस्गर अलीले भने, “हामीलाई आइसीसीले टिकट विक्री रोक्न आग्रह गरेअनुसार टिकट विक्री रोकेका छौँ”।
सोमबार हुने दोस्रो खेलको पनि सिमित टिकट बाँकी रहेको इसेवाले जनाएको छ।
आइसिसीले एक खेलका लागि टिकटको मूल्य दुई सय रूपैयाँ तोकेको छ। विगतमा जस्तै यसपटक पनि अनलाइनबाटै टिकट खरिद गर्न सकिने व्यवस्था मिलाएको इसेवाले पहिलो दिनको टिकट रोकिएपनि दोस्रो म्याचको टिकट विक्री भने खुल्ला राखेको छ।
दोस्रो म्याचका लागि https://cricket.esewa.com.np लग अन गरि टिकट खरिद गर्न सकिनेछ।