PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

पर्यटक लोभ्याउन गाउँलेले निर्माण गरे लसुन स्तम्भ



रासस

पर्यटक लोभ्याउन गाउँलेले निर्माण गरे लसुन स्तम्भ

तेह्रथुम : तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित लसुने बजारका स्थानीयवासीले पर्यटकलाई आकर्षित गर्न पहिचान झल्कने लसुनको पोटी आकारको लसुन स्तम्भ निर्माण गरेका छन्। 

पूर्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा मानिएको गुराँसको राजधानी तीनजुरे–मिल्के–जलजले क्षेत्रमा अवस्थित लसुने बजारको ऐतिहासिक पहिचानसमेत झल्काउने र पर्यटकलाई आकर्षण गर्न भन्दै स्थानीयवासीले नौ लाख रुपैयाँभन्दा बढीको लागतमा स्तम्भ निर्माण गरेका हुन्। 

स्थानीयवासीका अनुसार बाउबाजेले खोरिया फाँडेर लसुन खेती गर्ने गरेको र लसुनका लागि ख्याति प्राप्त ठाउँमा बस्ती विकास भएपछि बजारको नाम पनि लसुने बजार राखिएको थियो। 

सडकलगायत अन्य पूर्वाधारको विकास भएसँगै लसुने बजारको रुप फेरिँदो छ। पर्यटकको आवागमन पनि बर्षेनि बढिरहेको छ। बजार नजिकको पात्लेपोखरी र चिया बगानका कारण लसुने बजारमा पर्यटकीय आवागमन हुने गरेको स्थानीयवासी पुण्यप्रसाद तिम्सिनाले बताए। यहाँ आउने आन्तरिक पर्यटकले लसुने बजारका बारेमा सोधपुछ गर्ने र अचम्मित हुने गरेकाले पनि उनीहरुलाई प्रस्ट पार्नसमेत लसुन स्तम्भ आवश्यक ठानेर निर्माण गरिएको उनले जानकारी दिए। 

'लसुन स्तम्भ हाम्रो पहिचान हो', तिम्सिनाले भने– 'यहाँ आउने पर्यटकलाई पनि स्तम्भले थप मनोरञ्जन दिएर अल्मल्याउने छ भन्ने हाम्रो विश्वास छ।' 

स्तम्भ निर्माण भएपछि यहाँ आउने पर्यटकको सङ्ख्यामा समेत वृद्धि भएर गएको स्थानीयवासी पदमबहादुर नेपालीले बताए। यो बजार भएर पर्यटकीय क्षेत्र तीनजुरे, मिल्के, जलजले, रातपोखरी, पात्लेपोखरी तथा आकर्षक चिया बगान जाने आउनेको सङ्ख्या बर्षेनि बढिरहेको छ। 

लसुने बजारको मुख्य चोकमै लसुनको पोटी आकारकै स्तम्भ निर्माण गरेर पर्यटकलाई आकर्षित गर्न प्रयास गरिएको निर्माण समितिका संयोजक धर्मराज खड्काले बताए। स्तम्भ स्थानीयवासी, गाविस र अन्य दाताको सहयोगबाट गरी कुल नौलाख सातहजार एकसय ५५ लागतमा निर्माण गरिएको उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell