
काठमाडौँ : कञ्चनपुरको सीमान्त आनन्दबजारमा भारतीय सीमा सुरक्षा बल (एसएसवी) ले नेपाली भूमिमा छिरेर गरेको नेपाली नागरिक गोविन्द गौतमको हत्याविरुद्ध विद्यार्थी संगठन सडकमा निस्किएका छन्। भारतीय सीमा सुरक्षा बलले सीमा क्षेत्रमा गरेको ज्यादतीका विरुद्धमा विद्यार्थी संगठनहरु सडकमा ओर्लिएका हुन्।
हिजो मात्र कञ्चनपुरको सीमावर्ती आनन्दबजारका गोविन्द गौतमको भारतीय सीमा सुरक्षा बल एसएसबीले गोली हानी हत्या गरेको थियो। सीमा क्षेत्रको आनन्दबजारमा भएको गोविन्दको हत्या प्रतिनिधिमूलक घटना भए पनि नेपालका सीमावर्ती इलाकामा भारतीय सीमा सुरक्षाबलको ज्यादती त्यस्तै नै छ।
त्यसको विरोधमा विद्यार्थी संगठनहरुको छुट्टाछुट्टै प्रदर्शन सुरु भएको हो। सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका विद्यार्थी संगठनदेखि प्रतिपक्षी दल नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुसम्म सडकमा उत्रिएका हुन्।
बिहान १० बजे नै सरकारको नेतृत्व गरिरहेको पार्टी माओवादी केन्द्रको भातृ संगठनले प्रदर्शन गर्यो। संगठनले माइतीघर मण्डला पुगेर कञ्चनपुर घट्ना भारतीय पक्षको ज्यादती भन्दै विरोध जनाएको छ।
दिउँसो तीन बजे अनेरास्विवयुले लैनचौरस्थित अमृतसाइन्स क्याम्पसबाट प्रदर्शन सुरु गरेर भारतीय दूतावासमा पुगेर ज्ञापन पत्र बुझाउने तयारी गरेको छ।
नेपाली कांग्रेस निकटको नेपाल विद्यार्थी संघले पनि दिउँसो ४ बजे प्रदर्शनीमार्गमा विरोध प्रदर्शन गर्दैछ। संघले भारतीय सीमा सुरक्षा बल एसएसबीबाट भएको गौतमको हत्या जायादतीको पराकाष्ठा भएको भन्दै भारतले माफी माग्नुपर्ने र यस्ता घट्ना नदोहोरिने प्रततिबद्धता माग गर्दै प्रदर्शन गर्न लागेको नेविसंघका सहमहामन्त्री प्रेम जोशीले बताए।