PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

कन्चनपुरमा भारतीय सुरक्षाकर्मीको गोलीले ज्यान गुमाएका गोविन्द गौतम सहिद घोषित



पहिलोपोस्ट

कन्चनपुरमा भारतीय सुरक्षाकर्मीको गोलीले ज्यान गुमाएका गोविन्द गौतम सहिद घोषित

काठमाडौँ : कञ्चनपुरमा बिहीबार भारतीय सुरक्षाकर्मीको गोलीले ज्यान गुमाएका नेपाली नागरिक गोविन्द गौतमलाई नेपाल सरकारले सहिद घोषणा गरेको छ। 

घटनाबारे संसदलाई जानकारी दिने क्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले शुक्रबार संसदमा भने, 'गोविन्द गौतमलाई सरकारले सहिद घोषणा गरिसकेको सदनलाई जानकारी गराउन चाहन्छु।'

स्वर्गीय गौतमको अन्त्येष्टि सम्मानपूर्वक गरिने, राहतस्वरुप १० लाख परिवारलाई प्रदान गरिने र सन्तानलाई पठनपाठनको निःशुल्क व्यवस्था सरकारले मिलाउने जानकारी पनि गृहमन्त्री निधिले गराए। 

यसअघि सुदूरपश्चिमबाट आएको प्रतिनिधि मण्डलसित कुरा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले  पनि गौतमलाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढिसकेको जानकारी दिएका थिए।

प्रधानमन्त्री प्रचण्डले घटना सुन्ने बित्तिकै तुरुन्तै कुटनीतिक पहल प्रधानमन्त्रीकै तहबाट पनि गरिएको बताए। 

दूतावासका प्रतिनिधि बोलाएर अनुसन्धान गरी दोषीलाई कारबाही गर्न परराष्ट्र मन्त्रालयबाट कुटनीतिक कुराकानी भइसकेको र बिहानैदेखि परराष्ट्र मन्त्री आफै पहल गरिरहेको जानकारी पनि उनले दिए। 

'नेपाल सरकारले यो विषयको गम्भीरता र संवेदनशीलतालाई विचार गरीकन कुटनीतिक रुपमा भारत सरकार समक्ष राख्नुपर्ने कुरा राखेको छ र सार्वजनिक रुपमा गर्नुपर्ने कुरा गरेको छ', उनले भने, 'नेपाल सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएकोले यसमा कुनै पनि किसिमको हस्तक्षेप निन्दनीय हुन्छ। निरन्तर केन्द्रबाट संवाद गरिरहेका छौँ। स्थिति सामान्यीकरण गर्न पहल भइरहेको छ।

'यो विषयमा सरकार गम्भीर छ। कुनै पनि किसिमको हस्तक्षेप हामीलाई सह्य छैन भन्ने प्रष्ट कुरा भारतसमक्ष राखेका छौँ', उनले भने।

उनले अनावश्यक उत्तेजना फैलाएर बोर्डरमै गएर तनाव नगर्न पनि आग्रह गरे। 'जनताको भावनालाई सरकार सम्मान गर्छ। देशभक्तिपूर्ण राष्ट्रिय भावनाको सरकार उच्च कदर गर्छ। तर तनाव बढाउने कुरा बोर्डरभन्दा अन्यत्र नै राख्नु ठीक हुन्छ', उनले भने।

कुटनीतिक पहल

नेपाल सरकारका परराष्ट्र सचिवले भारतीय दूतावासका कार्यवाहक राजदूतलाई आज भेटी घटनाबारे औपचारिक विरोध गरेका छन्। गृहमन्त्री विमलेन्द्र निधि र परराष्ट्र मन्त्री प्रकाशशरण महतले भारतीय विदेशमन्त्री सुषमा स्वराजलाई टेलिफोनमा कुरा गर्दै घटनामा नेपाली नागरिक मारिएको बारे विरोध जनाएका थिए। 

त्यसैगरी आज भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफोन गरी कञ्चनपुर जिल्लाको पुनर्बासमा घटेको घटनामा नेपाली युवा गोविन्द गौतमको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।

सल्लाहकार दोवलले शुक्रबार दिउँसो २ बजे प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरी घटनाप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवार जनप्रति समवेदना प्रकट गरेका हुन्। टेलिफोनका क्रममा दोभलले कञ्चनपुर घटना दुखद भएको बताउँदै घटनाको छानविन प्रक्रिया अगाडि बढाइएको जानकारी दिए। दोभलले भारत सरकारको छानविन प्रक्रियामा कुटनीतिक सहयोग र समन्वय गर्न एवं मृतकको पोष्टमार्टम रिपोर्ट लगायतका अन्य सम्भव जानकारी उपलब्ध गराउन समेत प्रधानमन्त्री प्रचण्डसँग अनुरोध गरेका थिए।

टेलिफोन सम्वादका क्रममा प्रधानमन्त्री प्रचण्डले कञ्चनपुर घटना अत्यन्तै गम्भीर रहेको बताए। प्रधानमन्त्रीले दोभललाई कञ्चनपुर घटनाको गम्भीरता र संवेदनशीलताबारे जानकारी गराउँदै भारत सरकारको छानविन प्रक्रियामा नेपाल सरकारको सहयोग रहने बताए। टेलिफोनमा प्रधानमन्त्री प्रचण्डले भारत सरकारको छानविनपश्चात् दोषीमाथि ठोस कार्वाही हुने नेपालको अपेक्षा रहेको बताए।

सम्बन्धित समाचार
नेपाली भूमिमा भारतीयको गोली लागेर नेपाली ढलेको क्षण
कञ्चनपुर घटना : भारतले जारी गर्‍यो अर्को विज्ञप्ति, माग्यो मृतकको पोस्टमार्टम रिपोर्ट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell