
काठमाडौँ : क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता सिपी गजुरेलले प्रचण्डले राजश्वमा ब्रम्हलुट मच्चाएको आरोप लगाएका छन्। भक्तपुरको रफत सञ्चार पुगेका गजुरेलले आज प्रचण्ड सरकारको चर्को आलोचना गरे।
‘प्रचण्डले देशको राजश्वमा ब्रम्हलुट गरिरहेका छन्, एनसेलको कर छलीलाई दिन लागेको छुट त्यसको उदाहरण हो,’ गजुरेलले भने, ‘मन्त्रालयका सचिवले समर्थन गर्न नसक्ने बताउँदा बताउँदै जसरी पनि छुट दिलाउन लागि पर्नु इतिहासकै कमिशनखोरी सरकार भनेर पुष्टी हुन्छ।’ उनले कर्मचारीतन्त्रले एनसेल कर छलीमा सरकारलाई घुँडा टेक्न बाध्य बनाउनुपर्ने बताए।
‘सरकार भ्रष्टाचार, कालो बजारी, घुसखोरी र तस्करहरुको संयोजनमा निर्मित छँदै थियो,’ गजुरेलले भने, ‘यसमा झनै पञ्चेहरुको आगमनले यो सरकारको स्वरुप नेपालीमाझ स्पष्ट पारिदियो।’
प्रचण्ड सरकार भारतको कठपुतली
गजुरेलले प्रचण्ड नेतृत्वको सरकार भारतको कठपुतली सरकार भएको दाबी गरे। उनले प्रचण्ड नेतृत्वको सरकार मोदीकै निर्देशनमा बनेको भन्ने कञ्चनपुर घटनामा मौन रहनुले स्पष्ट हुने पनि बताए।
‘भारतले जे भन्यो त्यही गर्दै गइरहेको प्रचण्ड नेतृत्वको सरकार जति लामो समयसम्म टिक्छ त्यति नै छिटो नेपाल सिकिमीकरणतर्फ जान्छ,’ गजुरेलले भने, ‘नेपाल र नेपालीप्रति घात गरिरहेको यो सरकारलाई छिट्टै हटाउनु पर्छ।’ उनले नेपालीले क्रान्ति गरेर ल्याएको परिवर्तनलाई प्रतिक्रान्तितर्फ धकेल्ने काम भएको भन्दै संविधान जारी गर्दा नै गल्ती भएको बताए। ‘गल्ती सुधार गर्न संविधान खारेज गरी नयाँ शिराबाट देशलाई निकास दिनुपर्छ’ उनले भने।
सरकारले सरकारले पश्चगामी संविधानलाई कार्यान्वयन गर्न निर्वाचनको मिति घोषणा गरेको भन्दै निर्वाचन भए देश गृहयुद्धमा जाने बताए। ‘यही अवस्थामा निर्वाचन गरे देश गृह युद्धमा जान्छ’ उनले चेतावनी दिए।
मधेसी मोर्चा भारतको भरौटे
गजुरेलले सप्तरी घटनापछि मधेसी मोर्चाले सरकारलाई गरेको समर्थन तत्काल फिर्ता लिनुपर्ने भए पनि त्यसो नहुनुमा भारतको हात रहेको बताए। ‘अहिलेसम्म मोर्चाले दिल्ली आदेश पर्खिरहेको छ, आफैले समर्थन गरेको सरकारले नै हत्या गर्नुलाई कसरी हेर्ने’ उनले प्रश्न गरे।