
सोल : दक्षिण कोरियाको संसदबाट महाभियोग लगाइएका राष्ट्रपति पाक ग्युन हेलाई संवैधानिक अदालतको आदेशबाट शुक्रबार पदमुक्त गरिएको छ।
उनलाई पदमुक्त गर्ने फैसला सुनाउने निर्णय अदालतका आठ जना न्यायाधीशहरुले सर्वसम्मत रूपमा गरेको हो। इजलाशको नेतृत्व गरेका कार्यवाहक प्रधानन्यायाधीश लि जुङमीले फैसला सुनाउदा संञ्चार माध्यमहरुले प्रत्यक्ष प्रसारण गरेका थिए।
कानुनतः अदालतको यो फैसला तत्काल कार्यान्वयन हुनेछ । अव पार्कले राष्ट्रपतिको सरकारी निवास ब्लु हाउस तत्काल छोड्नु पर्दछ भने राष्ट्रपतिको अधिकार सवै नयाँ राष्ट्रपतिमा सरेको छ ।
उनी अदालतको आदेशबाट पदमुक्त हुने कोरियाको एक मात्र राष्ट्रपति भएका छन्। महाअभियोग लाग्ने राष्ट्रपतिहरु मध्ये उनी दोस्रो हुन्।
यसअघि सन् २००४ मा तत्कालिन राष्ट्रपति रो मोह्युनलाई पनि निर्वाचनको बेला आफ्नो पार्टीलाई समर्थन गर्न मतदाताहरुलाई आह्वान गरेको आरोपमा महाअभियोगको प्रस्ताव गरिएको थियो । तर झण्डै दुई महिनापछि उनलाई माफी दिइएको थियो । उनको कामबाट निर्वाचन कानुन उलङ्घन भएको भएपनि महाअभियोग नै लगाउनु पर्ने खालको नभएको फैसला भएको थियो ।
राष्ट्रपति पार्कलाई आफ्नो पदको दुरुपयोग गरेको अभियोग लागेपछि राजीनामा माग गरिएको थियो ।
गत बर्षको डिसेम्बर ९ देखि पार्कलाई महाभियोग लगाउने प्रस्तावमाथि संसदमा छलफल भएको थियो ।
सन् २०१६ को डिसेम्वरमा कोरियाली संसदले पार्क विरुद्ध महाभियोग लगाउने प्रस्तावलाई आवश्यक दुई तिहाई मतमार्फत प्रस्तावलाई पास गरेको थियो । यसपछि पार्कका वकीलले पार्कमाथि शक्तिको दुरुपयोग गरेको भनी लगाइएको आरोप गलत भएको भन्दै महाभियोग लगाउनु अन्यायपूर्ण भएको भन्दै अदालतमा पुगेका थिए।
महाभियोग पास भएपछिका ९२ दिनवीचमा पार्कमाथिको मुद्दामा जम्मा २० वटा सुनुवाई भएका थिए । रासस/सिन्हवा