
काठमाडौं : श्रम स्विकृति नलिई नेपाली महिलालाई खाडि मुलुक पूर्याएर विक्रि गर्ने गरेको आरोपमा एक जना पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाले मानवबेचबिखनमा संलग्न रहेको आरोपमा सुर्खेत बाबियाचौरका खडानन्द कँडेललाई पक्राउ गरेको हो ।
उनी ललितपुरको इमाडोलमा बस्दै आएका थिए। महाशाखाका अनुसार ओमानबाट बेचिएर स्वदेशी फर्किएकी एक महिलाले कँडेल विरुद्ध उजुरी दिएकी थिन् । कँडेलले दुई वर्ष अगाडीदेखि श्रम स्विकृत नलिई नेपालबाट महिलाहरुलाई विभिन्न प्रलोभन देखाएर खाडी मुलुकमा पूर्याउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको महाशाखाले जानकारी दिएको छ।
प्रहरीले उनको कोठाबाट चार जना महिलाको उद्धार समेत गरेको छ। उनीहरुलाई कुवेत पठाउन उनले ललितपुर ल्याएर राखेका थिए। अनुसन्धानमा उनले ती महिलालाई १५ दिनदेखि आफ्नो डेरामा राखेर कुवेत पठाउने तयारी गरेको खुलेको प्रहरीले जानकारी दिएको छ।