
काठमाडौं : भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले चलाएको गोलीबाट नेपाली युवाको मृत्यु भएपछि अशान्त बनेको कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ।
त्यहाँ सर्वदलीय छलफल बसिरहेको छ। राजनीतिक दलका प्रतिनिधि, स्थानीय बुद्धिजीवी, सञ्चारकर्मी, बजार व्यवस्थापन समितिका पदाधिकारी लगायत छलफलमा जुटेका हुन्।
अहिले घटनास्थल क्षेत्रमा ६ सय नेपाली सुरक्षाकर्मी खटाइएको छ। शुक्रबार जस्तो तनावको अवस्था अहिले नरहेको स्थानीय सञ्चारकर्मी हरिशचन्द्र बागले जानकारी दिए। कैलालीको गौरीफन्टा नाकामा दुवै देशका अधिकारीबीच आपसी समझदारी कायम राख्न शुक्रबार छलफल भएको थियो।
सीमा क्षेत्रमा कल्भर्ट निर्माणको विषयमा विवाद हुँदा एसएसबीको गोलीबाट कञ्चनपुरको पुनर्वास नगरपालिका-८ आनन्दबजार क्षेत्रमा गोविन्द गौतमको बिहीबार मृत्यु भएको थियो। सोही घटनालाई लिएर सीमा क्षेत्रका नेपालीले शुक्रबार विरोध प्रदर्शन गरेका थिए। एसएसबीले स्थानीय नेपालीलाई त्रसित पार्दै ४० पटकभन्दा बढी राउन्ड हवाइफायर गरेको हो।
घाँस काट्न भारतीय भूमिमा गएका चार जना नेपाली महिलालाई भारतीय स्थानीयबासीले निर्वस्त्र पार्दै नेपाल फर्काएका थिए। त्यसपछि सो क्षेत्रमा घटनाले उग्ररुप लिएको थियो।