
- दिनेश खड्का
सार्वजनिक यातायातमा एलइडी टेलिभिजन, एप, स्मार्ट कार्डलगायतका सेवा संचालनमा आएको छ। साझाले अत्याधुनिक सेवा राखेर बस संचालनमा ल्याएपछि निजी यातायात कम्पनी अनुशरण गर्न बाध्य भएका हुन्। साझासँगै निजी क्षेत्रका महानगर यातायात, मेट्रो सिटी यातायात, दुप्चेश्वर यातायातले संचालन गरेको बसमा स्मार्टपुस्ता लक्षित सुविधा छन्।
साझा यातायात
साझा यातायात सहकारीद्वारा हाल सञ्चालनमा रहेका साझा बसहरुमा ड्राइभरसहित ५५ सिट क्षमता छ। बसभित्र अवाञ्छित गतिविधि नहोस भनेर दुवैतर्फ सिसी क्यामरा जडान गरिएको छ।
.jpg)
साझा बसमा यात्रा गर्ने यात्रुका लागि मनोरञ्जन प्रदान गर्नका लागि एलर्इडी टिभी समेत राखिएको छ। पछाडिको ढोकाबाट चढ्ने र अगाडिको ढोकाबाट झर्ने दुईवटा छुट्टा छुट्टै ढोकाहरु छन्। २०६९ सालमा १६ वटा बस ल्याएर सेवा पुर्नसंचालनमा ल्याएपछि सार्वजनिक यातायातमा युटर्न भएको हो।
साझाले विभिन्न रुटमा रात्रीकालिन सेवा संचालनमा ल्याएको छ। साझाले नेपाल बैकसँग सहकार्य गरेर स्मार्ट कार्ड कार्यान्वयनमा ल्याएको छ। साझाका अनुसार बसको पछाडि र अगाडिको ढोकामा भाडा तिर्न सजिलो होस् भनेर दुर्इवटा मेशिन राखिएका छन्।
त्यो मेसिनमा कार्ड देखाएपछि भाडा काट्छ। बसमा चढ्ने क्रममा पछाडिको ढोकामा रहने मेसिनमा कार्ड देखाउने र झर्ने बेला अगाडिको ढोकामा रहेको मेसिनमा कार्ड देखाएपछि यात्रुले गरेको यात्राको दुरी मेसिनले अवश्यक भाडा काट्ने साझाका कार्यकारी प्रमुख महेन्द्रराज पाण्डेले जानकारी दिए।
उनका अनुसार अहिले लगनखेल–रत्नपार्क-नयाँ बस पार्क रुटमा यो सेवा सञ्चालनमा छ।
महानगर यातायात
यो बसमा ४० सिट क्षमता छ। गाडी चढ्न र ओर्लन लागि दुर्इ ढोका छन्।
.jpg)
गाडीमा भित्री भाग ठूलो भएकोले सहज रुपमा यात्रा गर्न मिल्छ। कम्पनीले सबै बसमा जिपिएस ट्रयाकिङ सिस्टम छ। मोबाइलमा एप डाउनलोड गरेर बस रहेको स्थान सजिलै पत्ता लाग्छ।
कम्पनीले गन्तव्यको सूचना दिन बसमा डिस्प्ले स्क्रीन र स्पीकर राखिएको छ। ३९ वटा बसबाट रिङरोड र रिङरोडभित्र चल्छन्।
सिटी मेट्रो यातायात
सिटी मेट्रो यातायात १५ वटा ठूला बस राजधानीमा भर्खरै संचालनमा आएको छ।
यो बस काँडाघारीबाट सुरु भएर जडिबुटी-कोटेश्वर-नयाँ बानेश्वर-बबरमहल-माइती घर-रामशाहपथ-न्यूप्लाजा-पुतली सडक-नक्साल-टिचिङ-महाराजगन्ज-बसुन्धरा-नयाँ बसपार्क हुँदै बनस्थलीसम्म पुगेर त्यही बाटो फर्किन्छ।
बसका चालिसभन्दा बढी सीट छन्। बसमा चढ्न र ओर्लनका लागि दुर्इ वटा ढोका छन्। बसमा एलइडी स्क्रीन राखिएको छ जसले गन्तब्यको बारेमा जानकारी दिन्छ।
यो बसमा एयर ‘ससपेन्सन सिस्टम’ छ। सामान्य गाडीमा पत्ता सिस्टम हुन्छ जसका कारणले गाडी बढी हल्लिन्छ तर मेट्रोमा ससपेन्सन सिस्टम भएकाले गाडी कम हल्लिन्छ।
सिटी मेट्रोको आफ्नै मोबाइल एप छ जसले गाडीको लोकेशनको बारेमा जानकारी लिन सकिन्छ। बसको अगाडि र पछाडि दुवैतर्फ सीसी क्यामेरा राखिएको छ। जसबाट बसमा हुने चोरी, महिला हिंसा लगायतका घटनाहरु कम हुने कम्पनीको दाबी छ।
ओरेन्ज यातायात
दुप्चेश्वर यातायात प्रालिले सञ्चालनमा ल्याएको १० वटा बस चक्रपथमा गुड्छन्। चालकसहित ५५ सिट क्षमता रहेको बसमा यात्रुको सुरक्षाका लागि सीसी क्यामरा पनि जडान गरिएको छ।
एलइडी डिस्प्ले जडानको तयारी गरिरहेको कम्पनीका अध्यक्ष चित्रबहादुर थापाले बताए। यो बसको ढोका भने बीचमा छ। बसमा जिपिएस सिस्टम जडान गरिएको छ। बीस रुपैयाँ तिरेर चक्रपथ परिक्रमा गर्न पाइन्छ।
बसमा ५५ सीट भए पनि १ सय ३० जनाले सहजै यात्रा गर्न मिल्ने उनले बताए। उनका अनुसार छिट्टै १० वटा बस थप्ने तयारी भइरहेको छ।